काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले युवा पलायनलाई रोक्नु आजको प्रमुख चुनौति भएको बताएका छन् ।
प्रदेश युवा परिषद् बागमतीको आयोजनामा आइतबारदेखि सुरु भएको प्रदेश युवा सम्मेलन २०८२ लाई उद्घाटन गर्दै मुख्यमन्त्री लामाले युवालाई रोजगारी र उत्पादनसँग आवद्ध गर्न प्रदेश सरकारले पर्याप्त मात्रामा लगानी गरिरहेको बताए ।
मुख्यमन्त्री लामाले रोजगारीको नाममा धेरै युवाहरु विदेशी भूमिमा पसिना बगाउनुपरेको दृष्टान्त प्रस्तुत गर्दै ति युवाहरुले पठाएको रेमिट्यान्सले नै नेपालको अर्थतन्त्र धानेको बताए ।
स्वदेशमै रोजगारीको अवसर दिलाउन प्रदेश सरकारले कोसिस गरिरहेको समेत उनले दाबी गरे । मुख्यमन्त्री लामाले प्रदेश सरकारले सञ्चालन गर्ने युवा लक्षित कार्यक्रमहरु युवाहरुको भावना र आवश्यकताको जगमा बनेको जिकिर गरे । उत्पादन र रोजगारी वृद्धि गर्न कृषिमा आधुनिकीकरण र युवाको संलग्नता नै मुख्य सवाल भएको उनको भनाइ छ ।
मुख्यमन्त्री लामाले युवाहरुको नेतृत्व विकास गरी शासकीय जिम्मेवारी बहन गर्न सक्षम बनाउनु आजको आवश्यकता भएको समेत उल्लेख गरे । युवाहरुलाई नीति निर्माण र नेतृत्व तहमा आकर्षित गर्नु जरुरी भएको उनको भनाइ छ ।
शासकीय संरचनाको केन्द्रमा युवाहरुलाई उचित स्थान दिएमात्रै नागरिकको विकास र समृद्धिको आकंक्षा पूरा हुने समेत उनले उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया