काठमाडौं । भारतका परराष्ट्रमामिलाबारे जानकार रबिन्दर सचदेवले कश्मीरमा कुनै पनि तेस्रो पक्षको भूमिका नहुने भारतको अडान रहेको टिप्पणी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मीरमा मध्यस्थताको प्रस्ताव गरेको विषयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै सचदेवले भने, ‘हाम्रो मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका छैन, अमेरिका एक महाशक्ति हो र अमेरिकासँग भारतको राम्रो र रणनीतिक सम्बन्ध छ, उहाँ (राष्ट्रपति ट्रम्प) शान्ति प्रवर्द्धक बन्न चाहनुहुन्छ ।’
अमेरिकाले युक्रेन र गाजासँग मध्यस्थताको प्रस्ताव गरिरहेका थुप्रै उदाहरणमाथि प्रकाश पार्दै उनले भने, ‘यी अझै पनि शान्ति प्रक्रियामा पुग्न सकेका छैनन् । उहाँले युक्रेनसँग खेलिरहनुभएको छ, जुन अझै पनि शान्ति ढाँचामा पुगेको छैन । गाजामा पनि शान्ति स्थापना हुन सकेको छैन ।’
ट्रुथ सोसलमा एक पोस्टमा ट्रम्पले अमेरिकाले मध्यस्थतामा शान्ति स्थापना गर्न सहयोग गरेको र कश्मीरको समाधानका लागि मध्यस्थता गर्ने प्रस्ताव गरेको दाबीलाई निरन्तरता दिएका छन् ।
राष्ट्रपति ट्रम्पले लेखेका छन् , ‘म उनीहरूसँग छलफल नै नभए पनि म यी दुवै महान् राष्ट्रसँग व्यापारमा उल्लेख्य वृद्धि गर्न गइरहेको छु , यसबाहेक, कश्मीरको बारेमा कुनै समाधानमा पुग्न सकिन्छ कि भनी म तपाईँहरूसँग काम गर्न चाहेको छु । भगवानले भारत र पाकिस्तानको नेतृत्वलाई राम्रो काम गर्न आशीर्वाद दिनुहोस् !’
भारतले पटक–पटक जम्मू–कश्मीरको विषयमा तेस्रो पक्षको हस्तक्षेपलाई अस्वीकार गर्दै आएको छ र यो क्षेत्र भारतको अभिन्न अङ्ग हो भन्ने स्पष्ट अभिव्यक्ति दिँदै आएको छ ।
एएनआईसँगको कुराकानीमा उनले भारतले पाकिस्तानविरुद्ध चालेको कदमको प्रशंसा गर्दै भने, ‘विश्व र पाकिस्तानका लागि यो सन्देश गएको छ कि भारतको सिद्धान्त अब ‘टिट फर ट्याट’ को हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया