जयवीरले किनेको हल्लापछि चर्चामा हिलटन, के भन्छ शंकर ग्रुप ?

लोकपथ
5.2k
Shares

काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा हस्पिटालिटीद्वारा सञ्चालित हिलटन होटल यतिबेला चर्चामा छ ।

एकवर्ष अघिबाट मात्रै शंकर ग्रुपले सञ्चालनमा ल्याएको पाँचतारे हिलटन होटल पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरले किनेको भन्ने विषयले हिलटन चर्चामा आएको हो । शनिबार दिउँसोबाटै सामाजिक सञ्जाल र केही मिडियामा समेत व्यवसायिक पृष्टभूमीका जयवीरले अर्बौ खर्चेर उक्त होटल खरिद गरेको भन्दै प्रचार भएको थियो । अन्य धेरै क्षेत्रमा लगानी गरेका जयवीरले उक्त होटल खरिद गरेको खबर फैलिएपछि शंकर ग्रुप अन्तर्गतको जगदम्बा हस्पिटालिटीले विज्ञप्ति नै जारी गरेर त्यसको खण्डन गरेको छ ।

अहिले उक्त होटल बिक्रीबारे कुनै कुराकानी नै नभएको र कसैसँग पनि त्यस विषयमा छलफल समेत नभएको अवस्थामा आएका अफवाहप्रति कटाक्ष गर्दै कानुनी कारबाही गरिने भन्दै शंकर ग्रुपले विज्ञप्ति नै जारी गरेको छ ।

‘जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडद्वारा सञ्चालित अन्तर्राष्ट्रिय चेन होटल हिलटन काठमाडौं कुनै पनि बिक्री प्रक्रियामा नगएको र यस विषयमा कहीँ कतै छलफल समेत नभएको व्यहोरा जानकारी गराउन चाहन्छौँ । साथै राजनीतिक व्यक्ति र व्यापारिक घरानाको नाम जोडी हुँदै नभएको विषय सिर्जना गरी सार्वजनिक भएका यस्ता भ्रामक समाचारहरुले व्यवसायको प्रतिष्ठा र राजनीतिज्ञको राजनीतिक जीवनमा समेत नकारात्मक असर पुर्याउने कार्य भएगरेकोप्रति गम्भीर आपत्ति जनाउँदै नेपालको प्रचलित कानुन बमोजिम आवश्यक कानुनी प्रक्रिया अपनाइने व्यहोरा सम्पूर्णमा जानकारी गराउँदछौँ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै संवेदनशील विषयमा आधिकारिक स्रोतबाट प्रमाणीकरण नभएका तथा अपुष्ट समाचार प्रकाशन र प्रशारण नगर्न समेत सबैलाई आग्रह गरिएको छ ।

साथै छिट्टै आईपीओ जारी गर्ने तयारीमा रहेको अवस्थामा कम्पनीको बदनाम गराउन उक्त काम गरिएको भन्दै शंकर ग्रुपले आपत्ति जनाएको छ ।

हिलटन होटलको विवाद भने अहिले मात्रै आएको होइन । सुरुमा हिलटन होटल निर्माणका क्रममा सडक भासिएपछि लामो समय आवागमन बन्द भएको थियो भने छिमेकीहरुले समेत आपत्ति जनाएका थिए ।

पछि काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणबाट नक्सा पास नगराई निर्माण गरिएको विवाद आएको थियो र त्यो विवाद अझै कायम नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?