प्रतिनिधि सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

लोकपथ
574
Shares

काठमाडौं । प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

त्यसयता नीति तथा कार्यक्रमबारे निरन्तर छलफल भइरहेको थियो । आज बसेको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमबारे सबै बहस र छलफल सकिएपछि निर्णायार्थ पेस गरिएको थियो । प्रतिनिधि सभाका बहुमत सदस्यहरुले नीति तथा कार्यक्रममा समर्थन गरेसँगै प्रतिनिधि सभाबाट उक्त प्रस्ताव पारित भएको हो ।

त्यसो त विपक्षी दलका सांसदहरुले नीति तथा कार्यक्रममाथि संशोधन समेत पेस गरेका थिए ।

सांसदहरु पूर्णबहादुर घर्तीमगर, वर्षमान पुन, प्रेम सुवाल, शक्तिबहादुर बस्नेत, रोशन कार्की, अमनलाल मोदी, माधव सापकोटा, रणेन्द्र बरायली, हितराज पाण्डे, लेखनाथ दाहाल, दुर्गा राई, रुपा चौधरी, सुशीला शिर्पाली ठकुरी, उमिर्ला माझी, चित्रबहादुर केसी, नारायणी शर्मा लगायतले संशोधन समेत राखेका थिए । सभामुख देवराज घिमिरेले संशोधन प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । तर सबै संशोधनकर्ताहरुको प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

त्यसो त आजै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत नीति तथा कार्यक्रममाथि उठेको प्रश्नबारे जवाफ दिएका थिए । तर आफूहरुले उठाएका सवालमा प्रधानमन्त्री ओलीले चित्त नबुझाएका कारण संशोधन प्रस्ताव फिर्ता लिन नचाहेको विपक्षी सांसदहरुले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?