राजावादीलाई ओलीको प्रश्न : ‘जडिबुटी कारखानाले आफैँ आत्मदाह गर्यो ?’

लोकपथ
287
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनको घटनाको जिम्मेवारी कसैले पनि नलिएको भन्दै कटाक्ष गरेका छन् ।

आज बसेको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै प्रधानमन्त्री ओलीले हिंसावादी आन्दोलनको जिम्मा कसैले नलिएको भन्दै कटाक्ष गरेका हुन् । राजतन्त्र फर्काउन राजावादीहरुको विभिन्न समूहले उक्त आन्दोलनलाई समर्थन गरे पनि जस कसैले नलिँदा अनुसन्धानमा समस्या परेको बताए ।

त्यस्तै उनले राजतन्त्रको विचारलाई ‘थोत्रो विचार’ भन्दै आलोचना समेत गरे ।

‘विचार व्यक्त गर्न पाइन्छ, थोत्रो पनि विचार व्यक्त गर्न पाइन्छ । तर त्यसका लागि म धेरै भन्न चाहन्न । चैत १५ गते आन्दोलनको आयोजना कसले गरेको थियो ? त्यस वितण्डाको आयोजक को थियो ? अहिले कोही माइबाप नै निस्किँदैन त्यो घटनाको । बेवारिस जन्माउने को हो ? मातापीता को हुन् ? पत्तो छैन अहिले त । तपाईँ हो भन्दा म त होइन भन्छ, तपाईँ हो भन्दा म त होइन भन्छ । कोही पनि होइन सबै निर्दोष छ । के ती घर आफैँ दशा लागेर जले ? के त्यो जडिबुटी कारखानाले दिक्क लागेर आफैँ आत्मदाह गर्या हो त्यसले ?,’ प्रधानमन्त्री ओलीले भने ।

त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई राजतन्त्रबारे सम्झौता गर्न गरेको आग्रहप्रति आक्रोश व्यक्त गरे ।
लिङ्देनप्रति कटाक्ष गर्दै उनले भने, ‘एउटा पार्टीको अध्यक्षले बोलेको मैले सुनेँ, कि राजा ल्याउने सम्झौता गर, होइन भने भाग्न तयार बन रे ! कहाँ भाग्ने ? एउटा थोत्रो संस्थाबाट मक्किएको, टुक्रिएको, ढलेको, सडेको संस्थाको तर्फबाट नेपाली जनतालाई ललकार्ने ? भाग्नुपर्छ तिमीहरु भनेर ? नेपाली जनता भाग्दैन ? भाग्ने ठाउँ पनि छैन ।’

त्यस्तै ओलीले सरकारले नयाँ ढंगले काम गरिरहेको समेत दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?