काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भ्रष्टाचारी र लुटतन्त्र लाई समर्थन गर्ने गरी आएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद साहले यस्तो टिप्पणी गरेका हुन् ।
सांसद साहले उक्त नीति र कार्यक्रम हेर्दा डायबिटिजका बिरामीलाई मिठाई खुवाएको जस्तो अनुभव भएको टिप्पणी गरे । उनले विदेशमा नेपाली नागरिकले कमाएको पैसा भ्रष्टाचारीहरूको फाइदामा प्रयोग भइरहेको समेत आरोप लगाए । उनले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा थुपारेको सम्पत्ति फिर्ता गर्ने गरी नीति तथा कार्यक्रम आउनुपर्नेमा ठिक उल्टो आएको आरोप समेत लगाए ।
उनले भने, ‘प्रस्तुत नीति तथा कार्यक्रमको बारेमा एक शब्दमा भन्नुपर्दा डायबिटिजको बिरामीलाई मिठाई खुवाएजस्तै मैले अनुभूत गरेको छु । राज्यको उच्च ओहोदामा बस्नेहरूले खुलेआम लुट्ने र भ्रष्टाचारको पैसा विदेशमा थुपार्ने यो अहिलेको मूल प्रवृत्ति भएको छ । लुट र भ्रष्टाचारको पैसाहरू रोक्छौँ र फिर्ता ल्याउँछौँ भन्ने प्रतिबद्धतासहित नीति तथा कार्यक्रम आउनुपर्थ्यो । तर दुर्भाग्य उल्टो आयो । खुलेआम आरमसँग लग्नुस् भन्ने नीति तथा कार्यक्रम देखिन्छ । विदेशमा नेपाली नागरिकले कमाएको पैसा परिवारको लागि हो कि भ्रष्टाचारीको लागि हो ? वैधानिक तरिकाबाट पैसा पठाउँदा घट्ने र कालो धनसँग साट्दा बढेर गाउँमा आउने के सरकारलाई थाहा छैन ?’
उनले वैदेशिक रोजगारमा रहेका युवाहरूले आर्जन गरेको सम्पत्ति समेत सदुपयोग हुने अवस्था निम्तिने गरी नीति तथा कार्यक्रम ल्याइएको भन्दै विरोध जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया