गुणाकर भट्ट होइन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल बन्दै छन् नयाँ गभर्नर

कामु गभर्नर ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगर्दा पौडेललाई ‘काइदा’

लोकपथ
4.6k
Shares

काठमाडौं । कायम मुकायम गभर्नर निलम ढुंगानाले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि सत्तारुढ कांग्रेस र एमालेबिच गभर्नरको नाम सिफारिस गर्न गठित समितिका सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेललाई गभर्नरको रूपमा अघि सार्ने सहमति भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारूढ कांग्रेस र एमालेका शीर्ष नेतृत्वसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टको सम्भावना टर्दै गएपछि गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेको र यसमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहमत भएको. स्रोतको भनाइ छ । 

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टलाई गभर्नर बनाउन तीन साताअघि नै समझदारी भएको सूचना बाहिरिएको थियो । जसअनुसार उनले वैशाख ५ गते एक महिनाको तलब अग्रिमरुपमा जम्मा गर्दै कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर, राष्ट्र बैंककी कायममुकायम गभर्नर निलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत गरिनन् । पछिल्ला दिनसम्म पनि ढुंगानाले आफूले कनै पनि हालतमा भट्टको राजीनामा स्वीकृत नगर्ने अडान व्यक्त गर्न थालेपछि देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेको स्रोतले दाबी छ । कांग्रेस–एमाले दुई दलीय भागबन्डामा गभर्नर कांग्रेसले लिने समझदारी छ ।

दुई दलबिच भएको यो सहमति कार्यान्वयनतर्फ अघि बढेमा पौडेलले पहिला सिफारिस समितिबाट राजीनामा दिनुपर्नेछ । त्यसपछि सरकारले उनको ठाउँमा अर्को सदस्य नियुक्त गर्नुपर्ने हुन्छ । राजीनामा स्वीकृत र उनको स्थानमा अर्को सदस्य राख्न पनि मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने हुन्छ । त्यसपछि मात्रै पौडेललाई गभर्नरमा सिफारिस गर्ने बाटो खुल्नेछ । 

स्रोतका अनुसार भोलि सोमबारको मन्त्रिपरिषद् बैठकबाट पौडेलको राजीनामा र नयाँ नियुक्तिको काम सक्ने र बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकबाट उनलाई गभर्नर नियुक्ति गर्ने सहमति भएको छ । 

पौडेल विज्ञका तर्फबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिमा सदस्य थिए । समितिमा अर्थमन्त्रीबाहेक एक पूर्वगभर्नर र एक विज्ञ सदस्य राख्नुपर्ने कानुनी व्यवस्था छ । अहिले समितिमा अर्थमन्त्री पौडेल, पूर्वगभर्नर महाप्रसाद अधिकारी र विश्व पौडेल छन् । पूर्वगभर्नरबाट सदस्य नियुक्त भएका विजयनाथ भट्टराईले राजीनामा दिएपछि उनको स्थानमा अधिकारीको ‘इन्ट्री’ भएको थियो । भट्टराईले गभर्नर नियुक्तिमा दुई दलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए । नियुक्त भएको एक महिनासम्म पनि बैठक बस्न नसकेकोमा उनको विशेष असन्तुष्टि थियो । 

पौडेल यसअघिको निर्वाचनमा चितवनबाट प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?