रवीन्द्र मिश्रलगायतका नेताहरूलाई बिना शर्त तत्काल रिहा गर्न कमल थापाको माग

लोकपथ
301
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले हिरासतमा रहेका रवीन्द्र मिश्रलगायतका नेता तथा कार्यकर्तालाई बिना शर्त तत्काल रिहाइ गर्न सरकारसँग माग गरेका छन् ।

शनिबार ललितपुरको जावलाखेलमा भएको रिले अनशनमा सहभागी भएका अध्यक्ष थापाले तीनकुने घटनामा पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरूलाई रिहाइ गर्न माग गरेका हुन् । उनले आफ्ना नेता तथा कार्यकर्ता संविधानले दिएको अधिकार प्रयोग गरी आफ्ना विचार राख्ने क्रममा पक्राउ परेको बताए । 

उनीहरू आस्थाको बन्दी भएको उनको भनाइ छ । उनले हतियार बोकेर वा कुनै हिंसात्मक गतिविधिमा  संलग्न नभएको व्यक्तिहरूलाई सरकारले अपराधी सरह पक्राउ गरी झुटा मुद्दा लगाउने दुष्प्रयास गरेका आरोप लगाए । उनले वर्तमान सरकार भ्रष्ट र निरंकुश भएको आरोप लगाए । उनले आस्थाका बन्दीहरूलाई रिहाइका लागि देशभरबाट सरकारलाई दबाब दिने क्रम जारी रहेको बताए ।

उनले भने, ‘उनीहरू कुनै अपराधी होइनन् । उनीहरूले संविधानद्वारा प्रदत्त अभिव्यक्ति स्वतन्त्र र विना हातहतियार भेला हुन पाउने अधिकारको उपयोग गरेका हुन् । तर वर्तमान निरंकुश र भ्रष्ट सरकारले उनीहरूमाथि अनेकौँ झुटा मुद्दा लगाउने दुष्प्रयास गरिराखेका छ । उहाँहरूलाई ४३ दिनदेखि थुनामा राखेको छ । उहाँहरू सबैको बयान सकिएको अवस्थामा पनि नयाँ नयाँ मुद्दा सिर्जना गर्दै फसाउने ढंगबाट प्रतिशोधको हिसाबले सरकार प्रस्तुत भइरहेका छ । तसर्थ देशका विभिन्न भागहरूमा विभिन्न दल र राजनीतिक समूहहरूले आआफ्नै ढंगबाट आस्थाको बन्दीको रिहाइका लागि दबाब दिइरहेका छन् । र त्यही शिलशिलामा जाउलाखेलमा राष्ट्रवादी देशभक्त युवाहरूको आयोजनामा भइरहेको यो दबाबमूलक कार्यक्रममा ऐक्यबद्धता प्रकट गर्न म यहाँ आएको हुँ । र सरकारलाई आग्रह गर्न चाहन्छु कत्तिपनि विलम्ब नगरी कन आस्थाका बन्दीहरू रवीन्द्र मिश्रलगायतका बन्दीहरू अपराधी होइनन् उनीहरूले हिंसात्मक अराजनीतिक गतिविधि गरेका छैनन् ।’ 

अध्यक्ष थापाले सरकारले अन्यायपूर्वक पक्राउ गरी हिरासतमा राखेका नेता तथा कार्यकर्ताहरू हिन्दु राष्ट्र र राजसंस्था विचारका संवाहक र राष्ट्रवादी योद्धा भएको जिकिर गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?