प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो : उपराष्ट्रपति यादव

लोकपथ
21
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको बताएका छन् । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उपराष्ट्रपति यादवले स्वतन्त्र प्रेसले नागरिकलाई सही सूचना सम्प्रेषण गर्नुपर्ने र सरकारका कामहरूलाई राष्ट्रहितका लागि सही मार्गदर्शन गर्नुपर्ने बताए । उनले वर्तमान समयमा जलवायु परिवर्तनको समस्या गम्भीर संकटको विषय भएकाले यसको न्यूनीकरणका लागि सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए । 

उपराष्ट्रपति यादवले जलवायु परिवर्तनले हुने वातावरणीय क्षति न्यूनीकरणका लागि सञ्चारकर्मीले कलम चलाउँदै नीति निर्माणका तहमा रहेकाहरूलाई उत्तरदायी बनाउनुपर्ने जिम्मेवारी रहेको बताए । 

उनले भने, ‘लोकतन्त्र र प्रेस स्वतन्त्रता तथा मिडिया र जलवायु संकट, नयाँ सञ्चारमाध्यमका चुनौतीहरू तथा संस्कृति र विश्वव्यापी परिप्रेक्ष्य लगायतका महत्त्वपूर्ण एवं समय सान्दर्भिक यस समिटका लागि आयोजक संस्थालाई हार्दिक धन्यवाद । उल्लेखित महत्त्वपूर्ण विषयहरूमा गोष्ठी, कार्यशाला, विचार विमर्श मिडियाकर्मीको विभिन्न ठाँउको यात्रासहितको कार्यक्रम प्रशंसनीय छ । लोकतन्त्र र प्रेस स्वतन्त्रता परस्पर अन्योन्याश्रित छन् । स्वतन्त्र प्रेस विना लोकतन्त्र कमजोर हुन्छ लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता पनि संकटमा पर्न सक्छ । प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो । स्वतन्त्र प्रेस नागरिकहरूलाई सही सूचना प्रवाह गर्ने, सरकारको जबाफदेहिता सुनिश्चित गर्ने तथा आम नागरिकको आवाज बुलन्द गर्ने एक महत्त्वपूर्ण माध्यम हो । खास गरी जलवायु परिवर्तनको वास्तविकता वातावरणीय क्षति न्युनिकरणबारे कलम चलाउन जरुरी छ । जलवायु परिवर्तनका रोकथाममा सरकारका प्रयासहरूमाथि निगरानी बढाउनु, वातावरणमैत्री प्रविधि हरित ऊर्जा तथा दिगो विकास सम्बन्धी जानकारीहरू आम नागरिकसम्म सरल भाषा र शैलीमा पस्कन सक्नुपर्दछ । हिमालमा हिमताल विस्फोटन हुनसक्छ, चुरे भावरको समस्या, तराइ मधेसमा पानीका मूलहरूको जल स्तर निकै तल गएको वा सुकिसकेको लगायतका विषयवस्तु समेट्दै प्रभावित क्षेत्र र समुदायको समस्यालाई उजागर गर्न जरुरी छ ।’

उनले उत्तरदायी पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउनु वर्तमानको आवश्यकता भएको बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?