बाघले कानुन पढेको हुँदैन : प्रधानमन्त्री ओली

लोकपथ
1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संख्या बढाउन नहुने बताएका छन् । शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले नेपालमा अहिले बाघको संख्या पर्याप्त रहेको र अब बढाउन नहुने भन्दा आफूलाई बुझ्दै नबुझी गाली गरेको भन्दै अब पनि बाघको संख्या बढाए उसलाई जमिन नपुग्ने उल्लेख गरे । 

उनले बाघ क्षेत्र पति जात भएकाले बाघले आफ्नो सीमाना लगाउने र सीमाना नपुगे बाघहरूबिच लडाइ हुने बताए । उनले बाघलाई खाना नपुगेपछि खानाको खोजीमा बाहिर निस्किने र त्यो बेलामा मान्छे खानु हुँदैन भनेर ज्ञान बोकेर नहिँड्ने कटाक्ष गरे । बाघले कानुनको किताब पढेको नहुने भन्दै बाघलाई मान्छे मार्नु हुँदैन, २० वर्ष जन्मकैद परिन्छ भन्ने ज्ञान नहुने बताए ।  

प्रधानमन्त्री ओलीले भने, ‘४६ प्रतिशत वन भनेको काफी हो । अस्ति नै मैले एउटा कार्यक्रममा भनेँः अब बाघको संख्या बिस्तार हामीलाई पुग्यो । बाघको संख्या बढाउँदै जाने हो भनेदेखि मान्छे भागे हुन्छ । अब बाघको संख्या बढाउन सकिँदैन, मिल्दैन भनेको थिएँ । धेरै वटा आयो । बा तपाईँका कुरा सबै मन पर्थ्यो, यो बाघको संख्या बढाउनु हुँदैन भनेको चाहिँ । बुझ्दै नबुझी कमेन्ट लेखिदिए केटाकेटीहरूले । यो बाघ भन्ने जन्तु फोटामा हेर्दा बडो गज्जबको हुन्छ । साम्नेमा पर्‍यो भने बस् । फोटामा बाघ हेरेर कुरा गरेर हुँदैन । जब उसलाई आफ्नो क्षेत्र पुग्दैन, बाघ भनेको एउटा क्षेत्र पति जात हो । उसले आफ्नो सीमाना लगाउँछ । त्यो क्षेत्र पुगेन भने क्षेत्रका लागि बाघहरूका बिचमा लडाइ हुन्छ । अर्कोतिर बाघ धेर भएपछि खान पुग्दैन । खाना नपुगेपछि खानाको खोजीमा आफ्नो क्षेत्र भन्दा बाहिर निस्किनुपर्छ । खाना भेटेन भने बाहिर जे पायो त्यहीमाथि आक्रमण गर्दछ । बाघले कानुनको किताब पढेको हुँदैन, भ्रम राख्नु हुँदैन । मान्छे मार्नु हुँदैन, २० वर्ष जन्मकैद यताउति थाहा छैन । बाघले पढेको त छैन । नङ्ग्रा छन्, दारा छ, बल छ, तीन वटा कुरा उसँग छन्, भोक लागेको छ । बाघ कुनै खेलाँची गर्ने चिज होइन । हामीले इकोसिस्टम, प्रकृति संरक्षणका लागि बाघको संरक्षण गर्नुपर्दछ ।’ प्रधानमन्त्री ओलीले बाघ खेलाँची गर्ने जनावर नभएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?