राजनीतिक दलहरू जनताप्रति भन्दा विदेशी शक्तिप्रति बढी झुके : पूर्व सभामुख रानाभाट

लोकपथ
252
Shares

काठमाडौं । पूर्व सभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरूमा कार्यकर्ताहरू आफ्ना झोले मात्रै बनुन् भन्ने परम्परावादी र सामन्ती सोच कायम रहेको बताएका छन्   । 

शनिबार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

उनले राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई नेपालको नागरिक, नेपालको नेता, नेपालको कार्यकर्ताको हैसियतबाट प्रस्तुत हुने एउटा परम्परा र संस्कृति सिकाउन जरुरी रहेको बताए । पुरानो र सामन्ती शैलीलाई छोडेर यथार्थमा समतावादी, प्रजातन्त्रवादी सोच ल्याउन जरुरी रहेको उनको भनाइ छ ।  

पूर्व सभामुख रानाभाटले भने, ‘मुलुकको आर्थिक, सामाजिक विकासका निम्ति काम गर्ने र साम्प्रदायिक सद्भाव, क्षेत्रीय आधारमा आफूलाई प्रस्तुत गर्ने होइन । नेपालको नागरिक, नेपालको नेता, नेपालको कार्यकर्ताको हैसियतबाट प्रस्तुत हुने एउटा परम्परा र संस्कृति राजनीतिक पार्टीहरूले आफ्ना कार्यकर्तालाई सिकाउन् । कार्यकर्ता आफ्ना झोले मात्रै बनुन् भन्ने जुन परम्परावादी, सामन्ती सोच हाम्रा पार्टीहरूमा छ । अहिले पनि छ । दुःखका साथ भन्नुपर्छ । म पनि त्यही पार्टीको ज्यादै जिम्मेवार तहमा बसेर सेवा गरेको मान्छे छु । त्यसैले हामी यो पुरानो शैलीलाई, सामन्ती शैलीलाई चटक्क छोडेर यथार्थमा समतावादी, प्रजातन्त्रवादी सोचबाट प्राथमिकताका प्रश्नलाई खोज्नुपर्छ ।’

पूर्व सभामुख रानाभाटले नेपालका राजनीतिक दलहरू मुलुक र जनताप्रति भन्दा विदेशी शक्ति र उनीहरूको ऋणसँग बढी झुकेको आरोप लगाए । 

उनले आफ्नो स्वार्थ भन्दा माथि उठेर राष्ट्रलाई बाटो देखाउनका निम्ति काम गर्नुपर्ने बताए । न्यायपालिका बाहेकका अरू सम्पूर्ण निकायहरूलाई कडा ढंगले सुझाव दिनुपर्नेमा उनको जोड छ । 

पूर्व सभामुख रानाभाटले भने, ‘अहिले त दुःखका साथ भन्नुपर्छ, मुलुकका जनताप्रति भन्दा विदेशी शक्ति र उनका ऋणहरूसँग हाम्रा पार्टीहरू बढी झुकेका हुन्छन् । त्यो दुःखद् स्थिति हामीले मेटाउन सकेनौँ । हामी स्वार्थ भन्दा माथि उठिसक्यौँ अब । अब हाम्रा स्वार्थ छँदै छैन । हामीले राष्ट्रलाई बाटो देखाउनका निम्ति सम्बन्धित निकायहरुः न्यायपालिका बाहेकका अरू सम्पूर्ण निकायहरूलाई हामीले कडा भन्दा कडा ढंगले सुझाव दिनुपर्छ ।’

पूर्व सभामुख रानाभाटले वर्षको एक पटकको साधारण सभाले पूर्व सांसद मञ्चको कर्तव्य पूरा नहुने उल्लेख गरे । बहुदलीय व्यवस्थाको लामो अनुभव बटुलिसके पनि नागरिक आशामुखी हुन नसकेको बताए । देशमै कामको समुचित व्यवस्था अझै हुन नसकेको उनको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?