काठमाडौं । सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभई जनताको सोचमा परिवर्तन हुन जरुरी रहेको बताएका छन् ।शनिबार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौती र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुख घिमिरेले यथार्थ के हो भन्ने बारे नेपाली जनताहरूले हेर्ने काम कम भइरहेको बताए । उनले कसैले बनाएको एउटा धारणालाई सही र गलत नछुट्याइ अघि बढ्ने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गरे ।
उनले यथार्थलाई बुझ्ने,बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको बताए । जनताको सोचमा परिवर्तन आउनुपर्ने समय आएको भन्दै जनताको सोच व्यवहारमा परिवर्तन हुन नसक्दा र कु प्रचारले महत्त्व पाएकोले सही विषय पनि गलत देखिन थालेको बताए ।
सभामुख घिमिरेले भने, ‘काठमाडौँको चैत्र १५ गतेको विरोध प्रदर्शनको हत्या, हिंसा, आगजनी, लुटपाट, चोरी डकैतीको कुरालाई लिएर अहिले चर्चा छ । नेताको विरुद्धमा र अहिलेको प्रणाली वा नीतिको विरुद्धमा अभियान छ । यो संसदीय प्रणाली, वा शासन प्रणालीको विरुद्धमा चर्चा चलिरहँदाखेरी एक जना कलाकारले नेता परिवर्तन होइन, जनता परिवर्तन गर्नुपर्छ भन्नेकुराहरु उठाएको छ । मलाई पनि त्यो कुराहरू सोच्नुपर्छ भन्ने लाग्छ । किनभने यथार्थ के हो भन्ने कुरा नेपाली जनताहरूले हेर्ने काम कम भइरहेको छ । एउटा धारणा बनायो, त्यसलाई चर्चामा जाने कुरा गरिएको छ । व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने व्यापक छ । आम जनतामै छ । आम रूपबाटै छ । हामीले यसलाई मसिनो विश्लेषण गर्ने हो भने आम रूपबाट छ । तर यथार्थ त्यस्तो हो की होइन ? यथार्थ त्यस्तो होइन । यथार्थलाई बुझ्ने बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम भइरहेको । त्यसको मतलब हो जनताको सोच परिवर्तन गर्नुपर्ने भएको छ । जनताको सोच किन परिवर्तन हुँदैन, व्यवहारमा परिवर्तन नदेखेपछि हुँदैन । कु प्रचारले महत्त्व पाइसकेपछि सही कुरा पनि हराएर जान्छ । सही कुराको विकास हुँदैन । आज जनताले सबै कुरा नकारात्मक मात्रै देखिरहँदा वा जनताको बिचमा त्यो प्रचार भइरहँदा त्यो यथार्थ हो की होइन भन्ने छ । नेता परिवर्तन त प्रणालीले नै गर्दछ । आवधिक निर्वाचनले गर्दछ ।’
सभामुख घिमिरेले अहिले राजनीतिमा अस्थिरता रहेको बताए । देशमा बढिरहेको प्रणाली विरुद्धको अभियानलाई जनताले निगरानीका साथ हेर्नुपर्ने र सजगताका साथ व्यवहार गर्नुपर्ने आवश्यकता रहेका बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया