काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिएर अहिलेसम्म पनि कानुनले विभेद गर्नु लज्जास्पद भएको बताएकी छन् ।
काठमाडौंमा जारी कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपसभामुख रानाले कुष्ठरोगलाई महारोगको संज्ञा दिनु लज्जास्पद भएको बताइन् ।
उनले लोकतान्त्रिक व्यवस्थाले कानुन परिस्कृत गर्नुपर्नेमा अझै कुष्ठ रोगीमाथि विभेद गर्नु लज्जास्पद भएको बताउँदै नेपालमा दुई लाखभन्दा बढी कुष्ठरोगी दर्ता भए पनि सबैले सामाजिक भत्ता पाउन नसक्नु दुःखद् भएको बताइन् ।
समाजले कुष्ठ रोगीलाई महारोग भनेर छिछि र दुर्दुर गर्दा रोगीहरू मानसिक समस्यामा पुग्ने गरेको भन्दै कुष्ठरोग औषधिको सेवनपछि पूर्णरुपमा ठिक हुने भएकाले रोगीलाई महारोग भनेर तर्साउन नहुने उनको भनाइ छ ।
उनले अरू अशक्तहरूले विभिन्न कला देखाए जस्तै कुष्ठरोगीका लागि पनि कुनै सिर्जनात्मक वातावरणको निर्माण गरी सरकारले आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिइन् ।
उनले भनिन्, ‘मुलुकी देवानी संहितामा अहिले पनि महारोग भनेर परिभाषित गर्दा मलाई लज्जास्पद लाग्यो । हामी कहाँ रहेछौँ अहिलेसम्म ? यो धेरै परिस्कृत भयो भनेको छ कानुनले त यहाँहरूलाई अझै विभेद गरेको रहेछ । कानुनले विभेद गर्नु लज्जास्पद भयो । अरू रोगबाट पीडितको कला देखाएको देखेको छु मैले उहाँहरूका लागि पनि उहाँहरूले जे सक्नुहुन्छ वातावरण सिर्जना गर्यो भने सरकारले त्यसलाई फण्डिङ गर्यो भने सामाजिक भत्ता छ छैन भन्दाखेरि ३० हजार अशक्ततामा रहेछ उहाँहरूले भत्ता पाएको छ होला । दुई लाख भन्दा बढी दर्ता भएको छ तर उहाँहरूले पाएको छैन त्यो पनि दुःख लाग्दो कुरा हो । जब हामी नाम दिन्छौँ नि महारोग भनेर त्यत्तिकै मान्छे तर्सिन्छ, डिप्रेसनमा जान्छ मानसिक समस्या हुन्छ । धेरै जना मानसिक समस्या भएको पनि मैले पाएको छु ।’
उपसभामुख रानाले कुष्ठ रोगीहरूको आवाज संसदसम्म पुग्नुपर्ने बताइन् । कुष्ठरोगसम्बन्धी विधेयक ल्याउन आफूले सहयोग गर्ने उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया