अध्यक्ष प्रचण्ड भन्छन्– ‘समाजवादी क्रान्तिको तयारी गर्न खोज्दा घेराबन्दी सुरु हुन्छ’

लोकपथ
616
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने काममा अघि बढेको बताएका छन् । 

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा निर्मल लामा स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । 

उनले फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने गरी आफूहरू अघि बढिरहेको उल्लेख गरे । चुनौतीका विरुद्ध लड्ने संकल्पसहित फेरि विचार, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजाने गतिका साथ काम गरिरहेको उनको जिकिर छ । अध्यक्ष दाहालले अहिले प्रतिक्रियावादी, अवसरवादी अझ बढी आफूहरुविरुद्ध घेराबन्दी गर्ने, भ्रमहरू छर्ने काममा लागेको आरोप लगाए । उनले नेताहरूलाई देवत्वकरण गर्न नहुने पनि बताए । 

अध्यक्ष दाहालले भने, ‘नेताहरूप्रति हामीले बुझ्दा देवत्वकरण गरेर बुझ्यो भने पनि गलत हुन्छ । त्यसको विकृत तरिकाले बुझ्यो भने त झन् गलत हुन्छ । प्रत्येक पार्टी र नेताहरूका पनि सीमा हुन्छन् । कमजोरी पनि हुन्छन् । महान् लेनिनले भनेको झैँ: सीमा र कमजोरी नभएको मान्छे अहिलेसम्म जन्मिएको छैन । कुनै पार्टी पनि जन्मिएको छैन । जन्मिदा पनि जन्मिँदैन । सही नेताले नै कमजोरी सकेसम्म नगर्न बल गर्दछ, भए सच्याउँछ । त्यसलाई नै इतिहासले महान् भन्छ । त्यसलाई नै जनताले आदर्शका रूपमा हेर्दछन् । अहिले देशमा जस्तो परिस्थिति छ, हामी फेरि कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी आदर्श र निष्ठातिर नै अगाडि लैजाने धेरै चुनौतीहरू हाम्रो अगाडि यति बेला छन् । हामी ती चुनौतीका विरुद्ध लड्ने संकल्पसहित हामी फेरि विचारलाई, मुद्दा, वर्ग, समुदायलाई केन्द्रित गरेर एक पटक यथास्थिति भत्काउने र रूपान्तरणसहित क्रान्तिलाई समाजवादी क्रान्तिमा लैजान खोजेका छौँ । हामीले यसो गर्न खोजे बापत प्रतिक्रियावादी, अवसरवादी अझ बढी हाम्रो विरुद्ध घेराबन्दी गर्ने, हाम्रा विरुद्ध भ्रमहरू छर्ने, अनेक किसिमको षड्यन्त्रहरू भएका छन् । यो स्वाभाविक रूपले भई पनि राख्छन् ।’

अध्यक्ष दाहालले समाजवादको बाटो तयार गर्न अविचलित भएर अघि बढ्नुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?