काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले राजा खोजेर समय बर्बाद नगर्न राजावादीहरूलाई सुझाव दिएका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद बाँस्कोटाले राजावादीलाई यस्तो सुझाव दिएका हुन् ।
उनले राजसंस्थाको वकालत आएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आन्दोलन गर्ने नभई आगामी निर्वाचनमा बहुमत ल्याउने कोसिस गर्न समेत सुझाव दिए ।
उनले कुनै पनि हालतमा समाज पछाडि नजाने भन्दै तासका बुकका राजा–रानी खोजेर अब जिन्दगी गुजार्नुस् भन्दै कटाक्ष गरे ।
उनले भने, ‘केही साथीहरू व्यवस्था परिवर्तन गर्ने भन्दै आन्दोलन गरिरहेका छन् । सरकारले संविधान नै संशोधन गर्ने भनिरहेको छ त किन आन्दोलन गर्नुपर्यो ? यहाँबाट तपाईँको दुई तिहाइ पुग्दैन होला । अर्को चुनावमा कोसिस गर्नुस् । बहुमत ल्याउनुस् । तासका बुकका राजा–रानी खोजेर अब जिन्दगी गुजार्नुस् । बाँकी त कहाँबाट आउनु । राजा राजा भनेको छ अब त निद्रा पनि नपर्ला जस्तो भइसक्यो । आउँदैन हजुर त्यो । यो पनि समयको बर्बादी हो के । लोकतन्त्रको विकल्प छैन, समाज पछाडि फर्किँदैन ।’
उनले सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको स्वागत गर्दै समग्र मुलुकको विकासमा टेवा पुग्ने गरी विकास गर्न जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया