पोप फ्रान्सिसका उत्तराधिकारीका रूपमा चुनिए रोबर्ट प्रेभोस्ट  

लोकपथ
210
Shares

भ्याटिकन सिटी । रोबर्ट प्रेभोस्ट सेन्ट पिटरस्थित गद्दीमा बस्ने २६७औँ सर्वोच्च पादरी बनेका छन् । उनलाई अब ‘लिओ चौधौँ’ भनेर चिनिने छ । उनी पोपको भूमिका निर्वाह गर्ने प्रथम अमेरिकी बनेका छन् । यद्यपि, उनलाई ल्याटिन अमेरिकी कार्डिनलका रूपमा बढी चिनिन्छ । बिशप बन्नुअघि उनले इसाई धर्मप्रचारका क्रममा धेरै वर्ष पेरूमा रहेर सेवा गरेका थिए । 

स्वर्गीय पोप फ्रान्सिसका उत्तराधिकारीका रूपमा चुनिएपछि लियो सेन्ट पिटर्स बेसिलिकाको बाल्कोनीमा आफ्नो पहिलो सम्बोधनका लागि उपस्थित हुँदा उनलाई दशौं हजार शुभेच्छुकहरूले स्वागत गरेका थिए । पोप चुनिएपछि दिएको पहिलो सार्वजनिक सम्बोधनमा उनले भने, ‘समग्र पृथ्वीमा जहाँ सुकै भए पनि सबै मानिसहरूमा शान्ति कायम रहोस् ।’

उनले भने, ‘हामीलाई र एक अर्कालाई, आपसमा वार्ता र छलफलको माध्यमबाट पुलहरू निर्माण गर्न सधैँ शान्ति र एकता कायम गर्न मद्दत मिलोस् ।’

लियोको सम्बोधनमा दर्शकदिर्घाबाट तालीको गडगडाहतसहितको न्यानो स्वागत पाएको थियो । विशेष गरी पेरुमा दुई दशकभन्दा बढी समय बिताएका पोपले स्पेनी भाषामा बोल्दै आफ्ना पूर्ववर्ती फ्रान्सिसलाई नयाँ पोपका हैसियतमा औपचारिकरूपमा श्रद्धाञ्जली अर्पण गरेका थिए । 

‘उमेरका कारण कमजोर बनेका पोप फ्रान्सिसले रोमलाई आशीर्वाद दिएको आवाज हामीलाई अझै पनि हाम्रो कानमा गुञ्जिरहेको जस्तो लागिरहेको छ,’ लियोले अर्जेन्टिनी फ्रान्सिसको मृत्युको एक दिन अघि इस्टर सन्डेको सम्बोधन (प्रार्थना)लाई संकेत गर्दै भने । 

उनले भने, ‘हामीले कसरी एक आत्मदेखि अर्को आत्मसम्म पुग्ने पुल निर्माण गर्ने चर्च वा मिसनरी चर्च बन्ने र समग्र विश्वको शान्तिका लागि संवाद गर्ने निर्ववादित र स्वतन्त्र बाटोको खोजी गर्नुपर्छ ।’

नयाँ पोपलाई द्वन्द्वग्रस्त विश्व मञ्चमा आफ्नो नैतिक आवाजलाई सशक्त पार्ने जिम्मेवारी रहेको छ । साथै उनले विभाजित चर्चलाई एकताबद्ध गर्ने र यौन दुव्र्यवहार काण्डबाट निरन्तर पतनजस्ता ज्वलन्त मुद्दाहरूको सामना गर्ने प्रयास गर्नुपर्नेछ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले प्रिभोस्ट पोपको निर्वाचनबाट चुनिएकोमा स्वागत गर्दै सामाजिक सञ्जालमार्फत् एक सन्देश जारी गरेका छन् । ‘हालै पोप नियुक्त हुनुभएका कार्डिनल रोबर्ट फ्रान्सिस प्रिभोस्टलाई बधाई,’ ट्रम्पले सामाजिक सञ्जालमा जारी सन्देशमा लेखेका छन् । 

‘उहाँ पहिलो अमेरिकी पोप बनेको महसुस गर्न पाउनु गर्वको कुरा हो, यो हाम्रो देशको लागि निकैे ठूलो सम्मान र उत्साह भएको छ,’ उनले लेखेका छन् ।

लियो चौधौंको निर्वाचन गर्न कति मत खसेको थियो भन्ने सार्वजनिक रूपमा जानकारी गराइने प्रचलन छैन, तर सम्मेलनले पछिल्ला इतिहासलाई पछ्याउँदै दुई दिन भन्दा कम समयमा निर्वाचन प्रक्रिया समाप्त गरेको छ । निर्वाचनको विवरण सधैंका लागि गोप्य रहने भए तापनि नयाँ पोपले निर्वाचित हुनका लागि कम्तीमा दुई तिहाइ मत प्राप्त गर्नुपथ्र्यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?