काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाइएपछि शुक्रबार धुलिखेलमा विवाद उत्पन्न भएको छ ।
थापालाई साधारण सभा स्थलको गेटमै सुरक्षाकर्मीले रोकेपछि केही समय वातावरण तनावपूर्ण बनेको हो । यद्यपि भित्र साधारण सभा भने सञ्चालन भइरहेको छ । साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष टंकलाल घिसिङले गरे ।

एन्फाले प्रवेश पास नभएको भन्दै थापालाई रोक लगाएको बताएको छ । यससँगै उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरू पनि घटनास्थलमा खटाइएको छ । थापाले भने आफू उच्च अदालत पाटनको आदेशअनुसार सभामा सहभागी भएको बताए । उनले अदालतको आदेश मान्दिन भन्न वा साधारण सभामा प्रवेश दिन एन्फालाई आग्रह गरे ।
उनले भने, ‘कि अदालतको निर्णय मान्दिन भन्नुपर्यो, कि साधारण सभामा प्रवेश दिनुपर्यो, नत्र रोकेर राख्न मिल्छ ? हिजो अन्तरिम आदेश दियो, मलाई र गौरव थापालाई साधारण सभामा नरोक्नु भनेर । एन्फाको तर्फबाट मेरो खारेजी गर्न अध्यक्षजी स्वयं आउनुभयो । बहस भयो तर खारेजी भएन तर अहिले उहाँहरू छिर्न दिनुहुन्न मलाई ।’

थापाले एन्फाले आफूलाई रोक्न सक्ने सङ्केत पाएपछि उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । वैशाख २१ मा न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाको पक्षमा अन्तरिम आदेश दिएको थियो । सो आदेशअनुसार उनी साधारण सभामा सहभागी हुन पुगेका थिए । तर एन्फाका प्रवक्ता सुरेश साहले अदालतको आदेशबारे औपचारिक जानकारी नआएको जिकिर गरे ।
उनले भने, ‘अफिसियल्ली हिसाबले निर्णय भन्नुभएको छ । त्यो सचिवालयलाई थाहा होला, हामीलाई थाहा छैन । हामीले बुझ्नुपर्ने कुरा के हो भने, एन्फामा अहिले २५–३० वटा मुद्दा छन् । कुन आदेश सचिवालयमा आयो/आएन भन्ने जानकारी सचिवालयबाट आउनुपर्छ ।’

सन् २०१५ अप्रिल १६ मा फिफाले भ्रष्टाचार र आचारसंहिता उल्लंघनको आरोपमा थापालाई १० वर्षका लागि निलम्बन गरेको थियो । सो निलम्बन सन् २०२५ अप्रिल १५ मा सकिएको थियो । प्रतिबन्ध फुकुवा भएपछि थापा फुटबल गतिविधिमा सक्रिय हुन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया