टिकट नपाएको भन्दै आक्रोशित कोमल वलीले यसो भन्दै लिइन् बागी फिर्ता

काठमाडौं, १९ कात्तिक— केहि पहिलेमात्रै एमाले प्रवेश गरेर टिकट नपाएको झोँकमा बागी उम्मेदवारी दिएकी चर्चित गायिका कोमल वलीले अन्ततः उम्मेदवारी फिर्ता लिएकी छिन् उनले एक विज्ञप्ति जारी गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको र अब एमालेलाई जिताउन नेता तथा जिम्मेवार कार्यकर्ताहरुसँग काँधमा काँध मिलाएर आफ्नो हैसियत अनुसारको भूमिका पूरा गर्ने प्रतिबद्धता जनाएकी छिन् उनले जारी गरेको विज्ञप्ति यस्तो छःआदरणीय पत्रकार मित्रहरु !दुई दशकपछि आह्वान भएको स्थानीय निर्वाचन सफलतापछि देश उत्साहका साथ प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा जुटेको छ । यो ऐतिहासिक घडीमा आ–आफ्नो स्थानबाट सक्रिय भूमिका खेल्न हरेक नागरिक उत्सुक छन् । नयाँ परिवेशमा देशलाई नयाँ ढंगले एकताबद्ध बनाउने, राष्ट्रिय स्वाभिमानको प्रवद्र्धन गर्ने र देशलाई समृद्धिको बाटोमा अग्रसर गराउने जिम्मेवारी नेकपा (एमाले)ले पूरा गर्न सक्छ भनेर आत्मादेखि मनन् गरेकोले म सो पार्टीमा प्रवेश गरेकी हुँ । जिम्मेवार सञ्चारकर्मी, देश र जनताले माया गरेको कलाकार र एक देशभक्त नागरिकको रुपमा मैले सँगालेको अनुभवलाई देश र जनताकै लागि कसरी सदुपयोग गर्न सकिन्छ भनेर चिन्तन गर्नु मेरो कर्तव्य पनि हो । त्यसैले जनप्रतिनिधिहरुको थलो संसद्मा गएर आफ्नो भूमिकालाई सशक्त बनाउन खोज्नु मेरो नाजायज आकांक्षा होइन, देश र जनताप्रतिको जिम्मेवारीबोधको अभिव्यक्ति पनि हो ]नेकपा (एमाले)का आदरणीय नेताज्यूहरुसँगको संवाद र उहाँहरुले व्यक्त गर्नुभएको सद्भावले पनि मलाई त्यो भूमिकाका लागि अझ बढी हौसला प्रदान गरेको थियो । तर, प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको मनोनयन दर्ता गर्ने दिनको पूर्वसन्ध्यामा पार्टीको सूचीमा मेरो नाम समावेश नभएको जानकारीले मलाई स्तब्ध र दुखी बनाएकै हो । यो सूचनाले मलाई व्यक्तिगत मात्र होइन सामाजिक रुपमा पनि आहात बनाएकोले मैले आफ्नो निर्दिष्ट जिम्मेवारी पूरा गर्न स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएकी हुँ । तर, योबीचमा मलाई पार्टीमा प्रवेश गराउने श्रद्धेय नेता शंकर पाेखरेलज्यु,अन्य नेतागणहरु, पार्टीका आदरणीय अभिभावकहरु, जिम्मेवार नेता तथा कार्यकर्ता, सामाजिक अग्रज, मेरा शुभचिन्तक, मान्यजन तथा प्रियजनहरुबाट पाएको सद्भाव र सहानुभूति मेरा लागि सर्वाधिक महत्वपूर्ण छ । संवेदनशील घडीमा सबैतिरबाट मिलेको स्नेहले मलाई अझ बलियो आत्मविश्वासका साथ संगठित रुपमा राजनीतिक यात्रामा अघि बढ्न प्रेरणा मिलेको छ । त्यसैले मैले आस्था राखेको पार्टी नेकपा (एमाले) र समग्रमा वामगठबन्धनको जित मेरो लागि सर्वोपरि हो भन्ने मैले ठानेकी छु । गठबन्धनको जित सुनिश्चित गर्न आदरणीय नेतागण र जिम्मेवार कार्यकर्ताहरुसँग काँधमा काँध मिलाएर आफ्नो हैसियत अनुसारको भूमिका पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु । म प्रति सद्भाव राख्नुहुने सबैलाई फेरि पनि धन्यवाद । राजनीतिक तथा सामाजिक यात्रामा यहाँहरुको यस्तै माया पाइरहने अपेक्षा राख्दछु । धन्यवाद कोमल वली१९ कात्तिक २०७४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?