काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङ (नीमा तामाङ) लाई काभ्रे जिल्ला अदालतले नागरिकता र राहदानी किर्तेमा दोषी ठहर गरेको छ । उनलाई नागरिकता सम्बन्धी मुद्दामा ५ वर्ष कैद र १ लाख जरिवाना र राहदानी सम्बन्धी मुद्दामा ३ वर्ष कैद र ३० हजार जरिवानाको फैसला भएको छ ।
काभ्रे जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले झुटा विवरण पेस गरी नागरिकता र राहदानी लिएको भन्दै उनलाई दोषी ठहर गरेको हो ।
बेल्जियमको समेत नागरिकता रहेका दावाले काभ्रेपलाञ्चोक जिल्लाबाट निमा तामाङको नामबाट नागरिकता बनाएका थिए ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका कर्मचारीकै मिलेमतोमा नमोबुद्ध–११ ठेगाना राखेर २० पुस २०७४ मा नागरिकता बनाएपछि उनले सोही वर्षको ११ माघमा सोही नागरिकता पेस गरेर राहदानीसमेत बनाएका थिए ।
दावाको नेपाली नागरिकतामा १५ वैशाख २०४१ जन्ममिति तथा बेल्जियमको राहदानीमा ३ चैत २०४० जन्ममिति उल्लेख छ ।
सुन काण्डमा पक्राउ परेपछि प्रहरीले अनुसन्धानको क्रममा उनले काभ्रेबाट नागरिकता लिएको पत्ता लगाएको थियो ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा पुर्पक्षका लागि कारागारमा छन् ।
काभ्रे जिल्ला अदालतका श्रेस्तेदार कर्णबहादुर राईका अनुसार, चितवनका राजु गुरुङ, कर्मचारी झपेन्द्रराज खरेललाई झुटा विवरण पेस गरी दोहोरो राहदानी दिने र लिने दुवैलाई जनही १५ हजार जरिवाना र १ वर्ष १ महिना कैद सजायको फैसला भएको छ ।
तर, नागरिकताको हकमा भने राजु गुरुङ, कर्मचारीद्वय झपेन्द्रराज खरेल र रामचन्द्र अर्याललाई जनही १५ हजार जरिवाना गर्ने फैसला सुनाएको छ । राजु गुरुङलाई नागरिकता बेच्ने ठाउँ देखाउने राजुका बुबा हरिभक्त गुरुङलाई सफाइ दिइएको छ ।
काभ्रे प्रशासनबाट विभिन्न मितिमा झुटा विवरण पेस गरी दोहोरो नागरिकता र राहदानी लिने र बनाइदिने कर्मचारी विरुद्ध नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज (सीआईबी)ले अधिकृत खरेल र अर्याल तथा दावा छिरिङ र गुरुङविरुद्ध नागरिकता र राहदानी सम्बन्धी कसुरमा जाहेरी दिएको थियो ।
जिल्ला अदालत काभ्रेमा ७ जेठ २०८१ मा कसुरसम्बन्धी अभियोग दर्ता भएको थियो । कर्मचारीहरू खरेल र अर्याललाई प्रहरीले दावा र राजु लगायतलाई नागरिकता र राहदानी बिक्री गरेको अभियोगमा दोस्रो पटक पक्राउ गरेको थियो ।
दोस्रो पटक पनि उनीहरूलाई उच्च अदालतले धरौटीमा छाड्ने आदेश गरेको थियो । गत वैशाख १७ गते बुधबार जिल्ला अदालतले उनीहरू दोषी ठहर गर्दै सजाय निर्धारणका लागि २३ वैशाखमा पेशी तोकेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया