काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणमा कुनै पूर्वाग्रह नभएको स्पष्ट पारेका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले चौधरीको पक्राउबारे स्पष्ट पारेका हुन् । उनले सर्वोच्च अदालतका एक कर्मचारीले विवेक गुमाउँदा यो घटना हुन पुगेको बताए ।
उनले यसअघि सर्वोच्च अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझै उक्त घटनामा पनि सही नियतले कानूनको कार्यान्वयन गर्ने मनशायबाहेक कुनै पूवाग्रह नरहेको बताए ।उनले भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएको समेत जिकिर गरे ।
साथै, अनधिकृत रुपमा पत्र लेख्ने शाखा अधिकृत महिमानसिंह विष्टमाथि झुटो जानकारी दिन नहुने, आदेशको अवज्ञा गर्न नहुने र कीर्ते गर्न नहुने मुद्दामा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
उनले भने, ‘अनधिकृत रुपमा पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौंले तत्काल पक्राउ गरी झुटो जानकारी दिन नहुने, आदेशको अवज्ञा गर्न नहुने र कीर्ते गर्न नहुने मुद्दाका शिर्षकहरुमा सम्मानीत अदालतबाट म्यान लिइ अनुसन्धान भइरहेको छ । यसअघि सर्वोच्च अदालतबाट हुने गरेको पत्राचारलाई प्रहरी प्रशासनले तत्काल कार्यान्वयन गरेझैं यो घटनामा पनि सही नियतले कानुनको कार्यान्वयन गर्ने मनसायबाहेक कुनै पूवाग्रह नरहेको सदनमार्फत अनुरोध गर्न चाहन्छु । भविष्यमा यस्ता घटना नदोहोरिनेतर्फ सबैलाई सजग र सचेत बनाएको व्यहोरा म सम्मानीत सदनमा निवदेन गर्न चाहन्छु ।’ उनले उक्त घटनाले चौधरी, परिवारमा पर्न गरेको असहजताप्रति क्षमा मागे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया