काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबिच ध्रुवीकरण हुन जरुरी रहेको बताएका छन् ।
राजसंस्था पुनःस्थानाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार काठमाडौंमा गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा रहेका अन्य दलका नेता कार्यकतालाई ध्रुवीकरण हुन आह्वान गरे ।
उनले राष्ट्रवादीहरुको आन्दोलन देशका लागि भएकोले सम्पूर्ण देशवासीलाई आन्दोलनमा सहभागी हुन आग्रह गरे । अबको आन्दोलन सफल नभएसम्म नरोकिने दाबी गर्दै अध्यक्ष लिङ्देनले मुलुक यही अवस्थामा बसिरहन नसक्ने भएकाले अब नयाँ सम्झौतामा जानुपर्ने स्पष्ट पारे । यदी आपूmहरुको प्रस्ताव अस्वीकार गरी गणतन्त्र पक्षधरले दमनको बाटो रोजे उनीहरु बढारिने चेतावनीसमेत दिए ।
उनले भने, ‘राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनासहित संघीयता खारेजीको आन्दोलनका लागि वैशाख २५ महत्वपूर्ण दिन हो । गणतन्त्र र धर्मनिरपेक्षताको अन्त्य गरेर राजासहितको प्रजातन्त्र चाहनेबीच ध्रुवीकरण हुनु जरुरी छ । यो आन्दोलन राष्ट्रवादीहरुको आन्दोलन हो यसका लागि सिंगो देशवासीलाई आन्दोलनमा सहभागी हुन आग्रह गर्दछु । अब आन्दोलन सफल नभएसम्म रोकिँदैन । मुलुक यही अवस्थामा बसिरहन सक्दैन, नयाँ सम्झौतामा जानैपर्छ । अब राजादेखि सबै शक्ति अटाउनसक्ने आफूहरुको प्रस्ताव नस्वीकारे गणतन्त्र पक्षधरहरु बढारिने छन् । अब बल सरकारको कोर्टमा छ । तपाईँहरु के चाहनुहुन्छ । देखिरहनुभएको होला केही दिन पहिला सम्पूर्ण राज्यशक्ति प्रयोग गरेर यो आन्दोलनको प्रतिवाद गर्ने अभ्यास पनि गर्नुभयो । दमन र जालझेलको सहारा नलिई समझदारीमा आउन गणतन्त्र पक्षधर दल र सरकारलाई आग्रह गर्छु । राजसंस्थाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध गर्नु होइन, उन्नत मुलुकमा राजतन्त्र अहिले पनि छ ।’
अध्यक्ष लिङदेनले अबदेखि राप्रपाका सबै कार्यक्रम आन्दोलनको एउटा अंगको रुपमा अघि बढ्ने घोषणासमेत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया