सन् १९४७ अगस्ट १४ को मध्यरात दुई देश नटुक्रिएको भए विश्व मानचित्रमा आज पाकिस्तानको अस्तित्व अहिलेको भारतमै रहने थियो ।
२ शताब्दी लामो उपनिवेशबाट भारतले उन्मुक्ति पाउँदै थियो । जसलाई स्वतन्त्रता भनियो । सोही मध्यरात एकातिर भारतले ब्रिटिस उपनिवेशबाट स्वतन्त्रता पायो, अर्कोतर्फ देशले आफ्नो एकीकृत अस्तित्वसमेत गुमायो ।
एकातिर ब्रिटिस शासकले स्वतन्त्रताको बिगुल फुकेका थिए भने अर्कोतर्फ विभाजनको शंख बजाइँदा स्वतन्त्रता र विभाजनको कथा एकै दिनबाट सुरु भयो । त्यही विभाजनले नै जन्मायो, जन्मजात शत्रुता, दुस्मनी र कहिल्यै अन्त्य नहुने युद्धको श्रृंखला ।
अल इन्डिया मुस्लिम लिगको नेतृत्व गरेका मोहम्मद अलि जिन्नाह (पाकिस्तानले राष्ट्रपिता मान्छ) को मुस्लिमहरूका लागि छुट्टै देश बनाउने अडान । भारतमा जातीय द्वन्द्व घुसाएर पुनः शासन गर्न सकिन्छ कि भन्ने ब्रिटिस शासकको भित्री चाल, जवाहरलाल नेहरु र महात्मा गान्धीमा वृहत् भारत भन्दा केवल ब्रिटिस साम्राज्यबाट स्वतन्त्रताको मात्र सोच पलाउनु । यी र यस्तै कारण भारत विभाजन हुन पुग्यो ।

एक दिन अघि र पछि गरेर स्वतन्त्रता दिवस मनाउने भारत र पाकिस्तान न कहिल्यै स्वतन्त्र जस्ता देखिएका छन्, न शान्त नै । कास्मिरी भूभागलाई आफ्नो दाबी गर्ने दुवै देशले यसका लागि सकेको बल प्रयोग गरिरहेका छन् ।
तत्कालीन ब्रिटिस शासकले नै भूमिको नक्सांकन गरिदिएपछि छुट्टिएका भारत–पाकिस्तान सुरुवाती चरणबाटै भूमिकै कारण विवादमा छन्, एकअर्काप्रति दुस्मनीमा छन् ।
यस्तो छ भारत पाकिस्तानको विभाजनको कथा
भारत जतिबेला स्वतन्त्र हुँदै थियो, त्यतिबेला देशमा कुल जनसंख्याको करिब २५ प्रतिशत मुस्लिम थिए । साथै बौद्धमार्गी, शिखलगायत अन्य समुदायको समेत प्रतिनिधित्व हुँदा बाहुल्यता भने हिन्दुहरूकै थियो ।
दुई सय वर्षदेखिको शासनबाट घुँडा टेक्न बाध्य बेलायत औपनिवेसिक मानसिकताबाट हटेर भारत छाड्न तयार बनेको थियो । १९४६ मा नै भारतलाई बेलायतले स्वतन्त्र छाड्ने घोषणा त गर्यो । तर त्यसअघिदेखि नै त्यहाँ हिन्दु र मुस्लिम समुदायबिच दंगा चलिरहेको थियो । अझ मुस्लिम समुदायमा पनि सिया र सुन्नीबिच अहमताको आगो सल्काइएको थियो, जसले देश स्वतन्त्र हुँदा पनि एकताबद्ध नहुने पक्कापक्की भइसकेको थियो ।
देशभर स्वतन्त्रताको लहर चलेको थियो । तर हिन्दु बाहुल्य रहेको भारतमा आगामी दिनमा भारतमा आफूहरु बस्न कठिन पर्छ कि भन्ने शंसयले मुुस्लिमहरुमा असन्तुष्टि पैदा हुन पुग्यो । सुरुमा भारतीय कांग्रेसबाटै राजनीति गरेका, नेहरु र गान्धीसँग निकट नै सम्बन्ध भएका जिन्नाह एकाएक कट्टर बन्न पुग्दा न विभाजन रोकियो, न स्वतन्त्रताको नाममा स्वतन्त्र बन्न पाए ।
त्यसो त भारतमा केवल कि कांग्रेस कि ब्रिटिस मात्रै रहेका छन् भन्ने जवाहरलाल नेहरुको भनाइमा टक्कर दिन थालिसकेका थिए जिन्नाह ।
उनै जिन्नाहले नेतृत्व गरेको मुस्लिम लिगको समर्थन गर्दै छुट्टै देशको मान्यताका लागि अडान नै पाकिस्तान उदयको मुख्य कारण बनिदियो । तर महात्मा गान्धी र जवाहरलाल नेहरुले सबै आस्था अटाउने स्वतन्त्र भारत चाहेको बुझाउन खोज्दै थिए, त्यति नै बेला जिन्नाहले मुस्लिम लिगलाई थप बलियो बनाउँदै लगेका थिए ।

एक समयमा भारतको ‘स्वतन्त्रता र विभाजन’ हुने/नहुनेबारे छलफलका लागि पुगेका जिन्नाहले गान्धीसँग लामो समय छलफलपछि एकताबद्ध भारतको विषयमा अघि जान सकिने धारणा राखेका थिए । तर त्यो सफल हुन सकेन, न पछि फलदायी वार्ता नै भयो । ब्रिटिसको दबाबका कारण छोटै समयमा विभाजनको खाका कोरियो र विभाजनको बिउ रोपियो ।
भारत–पाकिस्तानबिचको वर्तमान सीमारेखा ब्रिटिसकै कर्मचारीले कोरिदिएका थिए । सर सिरिल र्याड्क्लिफ डक्लिफले कोरेको खाकाकै आधारमा दुई देश अलग अस्तित्वमा पुगे । उनैले हिन्दुहरूको बाहुल्य भएको मध्य र दक्षिणी क्षेत्र तथा मुसलमानको बाहुल्य भएको पश्चिमोत्तर र पूर्वोत्तर क्षेत्रमा विभाजन गरिदिएका थिए । भारतभरि नै छरिएर रहेका दुवै समुदायले पछि आ–आफ्नो समुदायसँग मिलानका लागि ठूलो संघर्ष गर्नुपरेको थियो ।
यहीबिचमा दुई समुदायबिच पटकपटक झडप हुँदै आइरहेको थियो । त्यसबेला एकअर्काबिच लड्नका लागि मुस्लिम लिगले लडाकु समूह नै तयार गरेको थियो भने त्यसको प्रतिवाद गर्न हिन्दूवादीहरुले समेत समूह नै बनाएका थिए ।
दुवै समूहले आ–आफ्नो प्रभाव बढाउनका लागि गाउँ गाउँबाट मानिसहरूलाई लखेटेर आफ्नो आधार इलाका बनाएर राख्ने गरेका थिए । साथै दुई समूहबिच भूभागका लागि लडाइसमेत हुने गरेको थियो ।
तर कतिपय व्यक्ति अझै पनि त्यसबेला गान्धी र नेहरुले सुझबुझ पुर्याएको भए एकताबद्ध भारत निर्माण हुन सक्ने दाबी गर्छन् । सुरुमा जातीय राज्य निर्माणको चरणमा जानुपर्ने सुझावकाबिच केन्द्रीकृत राज्य हुनुपर्ने गान्धी–नेहरुको अडानका कारण पनि मुस्लिम समुदाय थप क्रुद्ध बनेको बताइन्छ । भारतलाई स्वतन्त्र बनाउन जति हिन्दुहरूको हात थियो त्यति नै मुस्लिम समुदायले समेत आन्दोलनलाई साथ दिएका थिए ।
भारतीय स्वतन्त्रता संग्रामका लागि भारतीय राष्ट्रिय कांग्रेस, हिन्दुहरूको प्रतिनिधित्व गरिरहेको हिन्दु महासभा र मुस्लिमहरूको प्रतिनिधित्व गरिरहेको अल इन्डिया मुस्लिम लिगले आन्दोलनको नेतृत्व गरेको थियो ।

एकातिर कांग्रेसबाटै राजनीति गरेका र अर्कोतिर कुनै हिन्दु–मुस्लिम एकता दूतका रूपमा देखिएका जिन्नाह एकाएक कट्टर बन्नुलाई अझैसम्म चासोका साथ हेरिन्छ ।
एकातिर विभाजनको एक कारकका रूपमा बेलायत र त्यसबेलाको ब्रिटिस शासकलाई हेरिए भने अर्कोतिर जिन्नाह–नेहरु र गान्धीलगायत त्यसबेलाका नेताहरूबिचको व्यक्तित्वको टकराबलाई समेत मुख्य मानिन्छ ।
तर भारत छाडेर जानै परेमा यसलाई एक रहन नदिने, हिन्दु–मुस्लिमलाई विभाजन गरेर दुई देश बनाउने, विभाजन गरेर शासन गर्ने पुरानै नीतिलाई कुनै न कुनै रूपमा निरन्तरता दिने र नवस्थापित राज्यहरूले हिंसा थेग्न सकेनन् भने फेरि आफैँ फर्किन पाइन्छ भन्ने अंग्रेजको नीतिलाई अन्तिम भायसराय लर्ड माउन्टबेटनले चलाखीपूर्वक कार्यान्वयन गरेको चर्चा चल्ने गर्दछ ।
बेलायतमा पढेका कारण जिन्नाहमा विदेशी शैली हावी भएको र अंग्रेजी राम्रो रहेका कारण ब्रिटिससँग राम्रो उठबस समेत रहेको थियो । जसकारण नेहरु–गान्धीलगायत भारतीय नेताभन्दा एक कदम अघि जिन्नाले ब्रिटिससँग सम्बन्ध बनाउन सकेको र त्यसैकारण एकताबद्ध भारतको पक्षमा जिन्ना देखिन नचाहेको मानिन्छ ।
कुनै बेला जवाहरलाल नेहरुसँग भएको ‘लभ एण्ड डेट’ को सम्बन्ध विस्तारै चिसिँदै जानु र एकअर्काबिचको अस्तित्व स्वीकार गर्न नसकिरहेका बेला जिन्नाहलाई मुस्लिम लिगले आफ्नो अधिकार स्थापित गरिदिने मुख्य नेता स्वीकारिसकेको थियो ।
त्यति नै बेला ‘भारतमा ब्रिटिस साम्राज्य र कांग्रेस मात्रै छ’, जवाहरलाल नेहरु सोच्ने गर्दथे । तर मुस्लिम लिगको नेतृत्व गरिरहेका जिन्नाह भन्थे, ‘भारत एकै देशमा दुई राज्य छ, एउटा हिन्दू, अर्को मुस्लिम ।’

धेरै अघिदेखि जिन्नाहले धार्मिक रुपमा देश विभाजन हुन सक्ने संकेत त गरिरहेकै थिए । तर जिन्नाहले मुस्लिमका लागि छुट्टै राज्य माग्न सक्ने तर विभाजनकै बाटोमा नलाग्ने नेहरु र तत्कालीन भारतीय नेताहरुको आंकलन जिन्नाहले फेल खुवाइदिए ।
जुन दिनबाट दुई देश अलग्गियो, त्यही दिनबाट नै कटुतापूर्ण सम्बन्धको समेत विजारोपण भयो नै । काश्मिरी भूमिलाई आफ्नो बनाउने नाममा पटकपटक एकापसमा लडिरहेका भारत–पाकिस्तानलाई थप लड्न र शत्रुता बढाउने मुख्य कारक बनिदियो पूर्वी पाकिस्तानको विभाजन यानेकी बंगलादेशको निर्माण ।
१९४७ मा नै टुक्रिएका भारत र पाकिस्तानबिच सीमा विवाद कायमै थियो । त्यही बिचमा पाकिस्तानको मुख्य आयस्रोतको रुपमा रहेको पश्चिम भाग (बंगलादेश) आफ्नो कब्जामा लिने नसके टुक्र्याइदिने भारतीय रणनीति थियो ।
भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस उइङ्स ‘रअ’ को सक्रियतामा तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी सफल भइन् । तर त्यसैबाट थप चिढिएको पाकिस्तानसँग न भारतको सम्बन्ध कहिल्यै सुधार भयो, न त सुख र शान्तिले रहन पायो ।
एक अर्काबिच छुट्टिएको दुई महिनापछि जम्बु काश्मिर क्षेत्रको अधिकारलाई लिएर युद्ध सुरु भयो । जसलाई भारत–पाकिस्तानको पहिलो युद्धको रुपमा हेरिन्छ ।
१९४७ मै पहिलो युद्धपछि पुनः १९६५, १९७१, १९८९, १९९९, २००१, २००७, २००८…. हुँदै अहिलेसम्म पनि एक अर्काबिच युद्ध भइरहेका छन् । भारत–पाकिस्तान युद्धमा नसोचेको मानवीय क्षति भयो । करिब १० लाख मान्छेको ज्यान जाँदा १ करोड २० लाख मान्छेहरु घरबारविहीन हुन पुगेका थिए ।
तत्कालीन समयमा विभाजनको कहर टार्न कांग्रेस र मुस्लिमको प्रतिनिधित्व हुने गरी सरकार निर्माणको कसरत समेत गरिएको गरियो । तर त्यो सफल हुने नदेखिएपछि ब्रिटिसले दुई देशलाई अलगअलग गराउने प्रस्ताव अघि सारेको थियो । धर्मका आधारमा मुलुकलाई विभाजन गर्न नहुने अडान राखिरहेका नेहरुको अघि केही नचलेपछि मुलुक विभाजनमा पुग्यो ।
त्यसपछि बल्झिएको काश्मिरमाथिको अधिकारको लडाइँले यसबिचमा पटकपटक लडाईँ भइरहेको छ, जसले दक्षिण एशियाको राजनीतिलाई नै बेला बेला खल्बलाइरहेको छ ।
भारतको स्वतन्त्रतासहित विभाजनको कथाका विषयमा समेत भिन्नभिन्न मत र तर्कहरु विकसित भएको पाइन्छ ।
जसमा मुख्य पात्र जिन्नाहलाई लिइन्छ । जसले भारतमा ब्रिटिस साम्राज्य हुँदै गर्दा भारतलाई हिन्दु र मुस्लिम आँखाबाट हेर्ने गरेको र मुस्लिमलाई छुट्टै अधिकार चाहिने वकालत गर्दैै आइरहेका थिए । जसको कारण पनि भारत विभाजनको चक्रमा फसेको तर्क बलियो छ । त्यसका साथसाथै गान्धी, नेहरु सुरुमै केन्द्रिकृत मानसिकताका कारण भारत विभाजनको चक्रव्यूहमा फसेको समेत तर्क रहेको छ ।
दुई शताब्दी ब्रिटिसको शासन रहेको भारतले त्यस समयमा केही प्राप्त गरेर धेरै कुरा गुमाएको भारतीय लेखक, विश्लेषक एवं राजनीतिज्ञ शशी थरुरको तर्क छ । उनले ब्रिटिसको शासनमा भारतले के पायो, के गुमायो ? भन्ने तर्कलाई आफ्नो पुस्तक ‘एन इरा अफ डार्कनेस : द ब्रिटिस इम्पाइर इन इन्डिया’ मा उल्लेख गरेका छन् ।
जहाँ थरुरले भारतलाई समृद्ध राष्ट्रबाट कसरी ब्रिटिस साम्राज्यले विपन्न राष्ट्र तुल्यायो भन्ने मिहिन ढंगले बयान गरेका छन् । साथै उनकै तथ्यांकलाई आधार मान्ने हो भने सन् १६०० इस्ट इन्डिया कम्पनीको गठन हुँदा विश्वको कुल उत्पादनमा बेलायतको अंश १.८ प्रतिशतमा सीमित हुँदा भारतले २३ प्रतिशत ओगटेको दाबी गरिएको छ ।
यता बेलायती साम्राज्यको दुई शताब्दीको शासनकालमा बेलायतको योगदान १० प्रतिशत पुग्दा भारत गरिबी र भोकमरीग्रस्त अविकसित राष्ट्रमा गनिन पुगेको उनको तर्क छ ।
गान्धीले भारतमा ब्रिटिस शासनका अन्तिम भाइसराय लर्ड लुई माउन्टब्याटनसँग त्यस दौरानमा पटकपटक वार्ता गरेका थिए । सन् १९४७ मार्च ३१ देखि अप्रिल ४ सम्म गान्धीले माउन्टबेटनसँग पाँच पटक कुरा गरे । ती सबै छलफलमा गान्धीले जिन्नाहलाई सरकार गठन गर्ने पहिलो मौका दिनुपर्छ भन्ने भनाइ अघि सारेका थिए । यानेकी जिन्नाहलाई पहिलो प्रधानमन्त्री बनाउनुपर्छ भन्ने धारणा अघि सारेका थिए ।
त्यसो त सन् १९४७ मा भारतबाट ब्रिटिसको शासन अन्त्य हुँदा भारतको साक्षरतादर १६ प्रतिशत थियो भने औसत आयु २७ वर्ष रहेको थरुरले उल्लेख गरेका छन् । थरुरकै भाषामा भन्ने हो भने त्यस बेला ९० प्रतिशत भारतीय जनता गरिबीको रेखामुनि हुँदा बेलायती अर्थतन्त्रको उपलब्धि भारतीय अर्थतन्त्रको विनाशबाट भएको दाबी गरिन्छ ।
त्यतिमात्र होइन भारतमा सदियौँदेखि मिलेर बसेका हिन्दू मुस्लिमको सम्बन्धलाई तिक्ततामा परिणत गरेर आफ्नो शासन लम्ब्याउन खेलेको चाल नै पछि विभाजनको जग बनेको थरुरको तर्क छ । मुस्लिमभित्र पनि सिया र सुन्नीलाई एकअर्कामा लडाएर जातीय द्वन्द्व फैलाएर ‘फुटाउ र राज गर’ को नीतिमा ब्रिटिस पुगेको थरुरको तर्क छ । उनले २ शताब्दी शासन गरेको क्षतिपूर्ति बेलायतले अहिले भारतलाई दिनुपर्ने तर्कसमेत गर्दै आइरहेका छन् ।
भारत–पाकिस्तान विभाजनको मुख्य कारक बेलायतलाई मानिँदा आधुनिक भारतको जग त्यसैबेला खनिएको तर्क समेत बलियो देखिन्छ । बेलायती साम्राज्यवादका कतिपय विरोधीहरुले समेत बेलायतले त्यसबेला थुप्रै दूरगामी महत्वका कामको थालनी गरिदिएको तर्क गर्छन् । भारतको राजनीतिक एकीकरण, कानुनी राज्य र प्रजातान्त्रिक शासन प्रणाली, रेल सेवाको विस्तार तथा अंग्रेजी शिक्षा आदिलाई मुख्य उपलब्धी देखाएका छन् । तर थरुर भने आफ्नो स्वार्थका लागि ब्रिटिसले यी कामहरु गरेको तर्क गर्छन् ।
नेहरू र जिन्नाहबिचको वार्ता असफल
भारत स्वतन्त्र हुने लहरकै क्रममै एक साँझ नेहरु जिन्नाहलाई भेट्न उनकै घरमा पुगेका थिए । त्यस दिन दुई नेताहरूबिच ८० मिनेट कुराकानी भएको भयो । दुवैबिच वार्ता सौहार्द भए पनि मेलमिलापका लागि कुनै बिन्दु नभेटिँदा नेहरु निराश बनेका थिए भने जिन्नाह समेत खुसी थिएनन् । व्यक्तित्वको टकरावका कारण दुवै जना एकअर्काको नेतृत्वमा काम गर्न पटक्कै राजी देखिएनन् ।
नेहरु मुस्लिम लिगलाई आगामी सरकारमा सामेल गर्न नचाहने र जिन्नाह पूर्ण हिन्दूवादी सरकार मात्रै मान्नै तयार नहुने यी कारण नै दुईबिच सन्तुलन मिल्न सकेन ।
जिन्नाहलाई प्रधानमन्त्री बनाउने गान्धीको प्रस्ताव
गान्धीले भारतमा ब्रिटिस शासनका अन्तिम भाइसराय लर्ड लुई माउन्टब्याटनसँग त्यस दौरानमा पटकपटक वार्ता गरेका थिए ।
सन् १९४७ मार्च ३१ देखि अप्रिल ४ सम्म गान्धीले माउन्टबेटनसँग पाँच पटक कुरा गरे । ती सबै छलफलमा गान्धीले जिन्नाहलाई सरकार गठन गर्ने पहिलो मौका दिनुपर्छ भन्ने भनाइ अघि सारेका थिए । यानेकी जिन्नाहलाई पहिलो प्रधानमन्त्री बनाउनुपर्छ भन्ने धारणा अघि सारेका थिए ।

पछि माउन्टबेटन आफ्नो पुस्तकमा लेखेका छन्, ‘एकदिन गान्धीले मसँग जिन्नाहलाई सरकार गठन गर्ने पहिलो मौका दिइनुपर्छ भन्ने प्रस्ताव राखे । यदि उनले यो प्रस्ताव स्वीकार गरे भने, कांग्रेसले इमानदारीपूर्वक र खुला रूपमा उहाँलाई सहयोगको ग्यारेन्टी दिनुपर्छ भन्ने गान्धीको तर्क थियो । यो प्रस्ताव देखेर म छक्क परेँ । त्यति नै बेला मैले गान्धीलाई सोधेँ, जिन्नाहले यो प्रस्तावमा के भन्नुहुन्छ ? गान्धीको जवाफ थियो, तपाईंले उनलाई मैले यो सूत्र तयार पारेको छु भनेर आफ्नो प्रस्ताव राख्नुहोस् ।’
यद्यपि गान्धीको उक्त प्रस्ताव जिन्नाहलाई कहिल्यै भनिएन ।
तर पछि माउन्टबेटनले गान्धीको सो प्रस्तावबारे नेहरुसँग समेत कुरा गरेका थिए । तर नेहरु सो प्रस्ताव नै सुन्न नचाहेको जिन्नाहको जीवनमा आधारित ‘जिन्नाह अफ पाकिस्तान’ मा उल्लेख गरिएको छ ।
स्वतन्त्रता दिवस नजिकिँदा फेरि युद्धको सम्मुखमा भारत–पाकिस्तान
भारत–पाकिस्तानको त्यो विभाजन र यो अशान्तिको श्रृंखला । अहिले पुनः भारत–पाकिस्तानबिच युद्धको आगो सल्किएको छ ।
भारत–पाकिस्तानबिच काश्मिर क्षेत्रमा हुने झगडा र हताहती त्यति नौलो त होइन, तर अन्य मुलुक युद्धमा होमिरहेका बेला भारत र पाकिस्तानमा देखिएको तनावले विश्वको ध्यान खिचिरहेको छ । गत अप्रिल २२ मा मुस्लिम अतिवादीले काश्मिरको पहलगाममा दुई दर्जन भन्दा बढीको हत्या गरिदियो । जसको मुख्य दोषी पाकिस्तान रहेको भन्दै भारतले युद्धकै जवाफ समेत फर्कासकेको छ । जवाफस्वरुप भारतले मार्च ७ को बिहान ‘अपरेसन सिन्दुर’ चलाएको थियो । पाकिस्तानी अतिवादी लुकेको स्थानमा टार्गेट गरेर हवाई आक्रमण गर्यो, झण्डै तीन दर्जनको निधन भयो भने भौतिक संरचना ध्वस्त बनेका छन् ।
स्वतन्त्रता र विभाजनको ७८ वर्ष, न स्वतन्त्र, न शान्ति । अबको तीन महिनापछि पुनः दुवै देशले स्वतन्त्रता दिवस मनाउँदैनन् । दुवै देशले संयमता गुमाएको अवस्थामा यो अगष्ट १४ र १५ मा न त्यहाँका नागरिक स्वतन्त्र रहन्छन्, न बचेखुचेको शान्ति नै बाँकी रहन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया