काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले जेन जी पुस्तालाई सम्बोधन गर्न आवश्यक प्रतिबद्धता नदेखाएको भन्दै आलोचना गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले जेन जी पुस्ता (सन् १९९७ देखि २०१२ सम्म जन्मिएका १३ देखि २८ वर्ष उमेर समूहका युवायुवती) को समस्यालाई सम्बोधन गर्न सरकारले ठोस योजना नल्याएको बताए । दैनिक तीन हजारदेखि ५ हजार युवाहरू रोजगारीको निम्ति विदेशिएको र दैनिक तीनदेखि ५ वटासम्म शवहरू नेपाल फर्किने गरेको उनको भनाइ छ ।
उनले यसको उपचारको खोजी नगरी जेन जी पुस्ताको नयाँ नामकरण गरेर मात्रै त्यसलाई राम्रो भन्न नसकिने जिकिर गरे । जेन पुस्तापछि जन्मिएको अल्फा पुस्ता पनि लागूपदार्थ दुर्व्यसनी, चिन्ता र आत्महत्याजस्ता समस्याबाट पीडित भएको उल्लेख गर्दै यस्ता मुद्दालाई राष्ट्रिय सामाजिक आन्दोलनका रूपमा विकास गर्न सरकारले ध्यान नदिएको आरोप लगाए ।
उनले भने, ‘जेन जी पुस्ता भनेको सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरू, जसको उमेर १३ देखि २८ वर्षसम्मका युवायुवतीहरूलाई प्रतिनिधित्व गर्छ । यसलाई सम्बोधन गर्न जुन खालको महत्त्वपूर्ण प्रतिबद्धता हुनुपर्ने थियो, त्यो छैन । अहिले दैनिक तीन हजारदेखि ५ हजार युवाहरू रोजगारीको निम्ति विदेशिएका छन् । दैनिक तीनदेखि ५ वटासम्म मृत शवहरू नेपाल फर्किएका छन् । यसको उपचारको खोजी नगरी जेन जी पुस्ताको नयाँ नामकरण गरेर मात्रै त्यसलाई राम्रो भन्न सकिँदैन । जेन पुस्तापछि जन्मिएको अल्फा पुस्ता पनि आइसकेको छ । लागूपदार्थ दुर्व्यसनी, चिन्ता, आत्महत्याबाट पीडित छन् । तिनीहरूलाई राष्ट्रले एउटा सामाजिक आन्दोलन रूपमा कसरी विकास गर्न सकिन्छ त्यतातर्फ ध्यान दिएको देखिँदैन ।’ उनले युवा पुस्ताको भविष्य सुनिश्चित गर्न ठोस नीति र प्रतिबद्धता आवश्यक रहेको जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया