आज मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिमा ओलीले देउवालाई खेलाइरहेको कांग्रेसवृत्तमा आशंका

लोकपथ
3.3k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहीबार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको बैठकमा गभर्नर नियुक्ति, संसदमा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ । 

सरकारले लामो समयदेखि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेको अवस्थामा आज बस्ने बैठकले गभर्नर नियुक्ति गर्छ नै भन्ने कुनै ठेगान छैन ।   

राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टलाई गभर्नर बनाउन नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व सहमत भएको भनिए पनि नियुक्तिमा ढिलाइ हुँदै आएको छ । कार्यकाल सकिनु एक महिनाअगाडि नै नियुक्त गर्नुपर्ने कानुनी प्रावधान भए पनि ओली सरकारले गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको एक महिना बितिसक्दा पनि गभर्नर नियुक्त गर्न सकेको छैन ।

प्रधानमन्त्री ओली र सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको छलफलमा हिजो बुधबार नै नेपाल राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गराएर बिहीबार उनलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमति भएको थियो । तर, बिहीबार बिहानसम्म पनि भट्टको राजीनामा स्वीकृत हुन सकेको छैन । यसले गभर्नर नियुक्ति प्रक्रिया अझै लम्बिने देखिएको छ । 

प्रधानमन्त्री ओलीले यसअघि नेपाली कांग्रेसका सभापति देउवाले नै अगाडि सारेका गुणाकर भट्टलाई नै गभर्नर बनाउने सहमतिबमोजिम बुधबारसम्मको समय मागेको समाचार बाहिरिएको थियो । ओलीले कामु गभर्नर निलम ढुंगानाले रोकेर राखेको भट्टको राजीनामा स्वीकृत गराउने र भट्टलाई गभर्नर नियुक्ति गर्ने वचन दिएका थिए । तर कामु गभर्नर ढुंगानाले भने भट्टको राजीनामा स्वीकृत नगर्ने अडान राखिरहेकी छन् । उनी आफैँ पनि गभर्नरको प्रत्याशी हुन् । त्यसैले पनि उनले अन्तिम समयसम्म लड्ने मनस्थिति बनाएको स्रोतको भनाइ छ । उनले आफू अन्तिम समयसम्म लड्ने र नसके आफै राजीनामा दिएर हिँड्ने तर भट्टको राजीनामा स्वीकृत नगर्ने अडान राखिराखेको स्रोतको भनाइ छ । 

कतिपय कांग्रेस नेताहरू प्रधानमन्त्री ओलीकै ‘व्याकफोर्स’ मा कामु गभर्नर ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेको पनि बताउन थालेका छन् ।  देउवा भने ओलीका कारण नभई राष्ट्र बैंककै आन्तरिक कारणले गभर्नर नियुक्ति ढिला हुन गएको बुझाइमा छन् । 

नेपाली कांग्रेसले बजेटको सन्दर्भमा मंगलबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा पनि देउवाले राष्ट्र बैंकको आन्तरिक कारणले गभर्नर नियुक्ति हुन ढिला भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?