काठमाडौं । बुधबार बिहान भारतीय सेनाले पाकिस्तानी भूभागमा गरेको सैन्य हमलामा पाकिस्तानका उग्रवादी संगठन जैश-ए-मोहम्मदका नेता मसूद अजहरका परिवारका १० सदस्यको मृत्यु भएको दाबी गरिएको छ । पुलवामा हमलाको बदलामा बुधबार बिहान भारतीय सेनाले पाकिस्तानको पन्जाब प्रान्तमा पर्ने बहाबलपुरमा आक्रमण गरेको थियो ।
भारतीय समाचारमा जनाइए अनुसार अजहर पाकिस्तान शासित कश्मीर अर्थात् पिओकेमा बसेर उग्रवादी संगठन चलाइरहेका जैश-ए-मोहम्मदका कमान्डर थिए । उनको परिवारले सेल्टर लिएको पाकिस्तानको पन्जाब प्रान्तमा पर्ने बहाबलपुरको एक मस्जिदमा भारतीय सेनाले आक्रमण गरी परिवारका १० सदस्यसहित अन्य चार जनाको समेत हत्या गरेको दाबी गरेको छ । समाचारमा जनाइए अनुसार पाकिस्तानको बहाबलपुर स्थित सुभान अल्लाह मस्जिदमा भएको हमलामा मसूद अजहरका नातेदार र सहयोगीहरू मारिएका हुन् ।
सो विषयको पुष्टि जैश-ए-मोहम्मद (जेईएम)ले बुधबार विज्ञप्ति जारी गर्दै १४ जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेहरूमा मसूद अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच छोराछोरी रहेको उल्लेख छ ।
भारतको सैन्य हमलामा पाकिस्तानको जैस ए मोहम्मदका कमान्डर मसूद अजहरका १० नातेदारसहित १४ मारिए
को हुन् मसूद अजहर ?
मसूद अजहर पाकिस्तानी उग्रवादी संगठन जैश-ए-मोहम्मदका संस्थापक तथा प्रमुख कमान्डर हुन् । उनी पाकिस्तानमा बसेर भारतीय भूमिमा आतंकवादी क्रियाकलापमा संलग्न व्यक्ति रहेको आरोप लाग्ने गरेको छ ।
मसूद अजहर भनेर चिनिने मौलाना मसूद अजहर अल्बी एक कुख्यात इस्लामिक उग्रवादी हुन्, जसले पाकिस्तानबाट उग्रवादी संगठन जैश-ए-मोहम्मद चलाइरहेका छन् । उनलाई भारत, अमेरिका, बेलायत र संयुक्त राष्ट्रसंघले विश्व आतंकवादीको सूचीमा राखेको छ ।

मसूद अजहरको पूरा नाम मौलाना मसूद अजहर अल्बी हो । उनको जन्म सन् १९६८ को जुलाई १० मा पाकिस्तानको पन्जाब प्रान्तमा पर्ने बहाबलपुरमा भएको थियो । पाकिस्तानको कराचीमा रहेको जामिया उल–उलूम इस्लामियाबाट धार्मिक शिक्षा प्राप्त गरेका उनी भारतमा भएका विभिन्न आतंकवादी हमलाका मास्टर माइन्ड मानिन्छन् ।
मसूद अजहर २० वर्षको उमेरदेखि नै आतंकवादी संगठनमा आबद्ध भएको बताइन्छ । उनी सुरुमा आतंकवादी संगठन हरकत-उल-अन्सारमा आबद्ध भएका थिए । यही संगठनबाट उनले भारतमा आतंकवादी क्रियाकलापमा संलग्न हुने गरेका थिए । उनी धार्मिक गुरुको रूपमा आतंकवादी क्रियाकलापमा संलग्न हुने गरेको बताइन्छ ।
यो संगठनमा बसेर भारतमा आतंकवादी क्रियाकलाप गरिरहेका अजहर सन् १९९४ मा धार्मिक कार्यक्रमको बहाना बनाएर आतंकवादसँग सम्बन्धित काममा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । तर कुन आतंकवादी काममा उनले के गरे भन्ने ठोस प्रमाण भारतसँग थिएन । उनी भारतीय जेलमा नै रहेका बेला नेपालमा भएको विमान अपहरण काण्डपछि उनी रिहा भए ।
विमान अपहरणमा मसूद कनेक्सन
नेपालको काठमाडौंबाट भारतको नयाँ दिल्ली उडान भर्दै गरेको आइसी-८१४ कलसाइनको विमान अपहरण गरी अपहरणकारीले अफगानिस्तानको कान्दाहारमा पुराएका थिए । सन् १९९९ को डिसेम्बर २४ मा भएको विमान अपहरणमा अपहरणकारी मागमध्ये एउटा माग आफ्ना कैदी बन्दी रिहा गर्नुपर्ने सर्त थियो ।

आफ्ना यात्रुहरूको सुरक्षाका लागि भारतका जेलमा रहेका हरकत-उल-अन्सारका तीन नेतालाई रिहा गर्न बाध्य भयो, जसमा पाकिस्तानका कट्टरपन्थी नेता मसूद अजहर, अहमद उमर सईद शेख र मुश्ताक अहमद जरगर थिए ।
रिहाइ भएपछि मसूदले जैश-ए-मोहम्मद नामक संस्था खोलेर सञ्चालन सुरु गरे भने अहमद उमर सईद शेख इस्लामिक आतंकवादी क्रियाकलापमा संलग्न रहे । शेखले पछि अमेरिकी पत्रकार ड्यानियल पर्लको हत्या गरेका थिए ।
यता फिरौतीमा रिहा भएका मुश्ताक अहमद जरगर भने पाकिस्तान शासित काश्मीर अर्थात् पिओकेमा काश्मीरी आतंकवादी संगठनमा आबद्ध भएका थिए ।
भारतीय जेलबाट छुटेपछि जैश-ए-मोहम्मदको स्थापना
विमान अपहरणपछि फिरौतीका रूपमा छाडिएका मसूद अजहर जेलबाट छुटेपछि पाकिस्तान फर्केर सन् २००० मा जैश-ए-मोहम्मद अर्थात् जेइएम स्थापना गरे । यही समूहले पछि भारतका विभिन्न स्थानमा आतंकवादी आक्रमण गरेको दाबी गरिएको छ ।
भारतमा लगातार आतंकवादी आक्रमण
यो संगठनले सन् २००१ को डिसेम्बर १३ मा भारतीय संसदमा हमला गरेको थियो । भारतीय संसद् अधिवेशन सकिए लगत्तै नक्कली सरकारी गाडीमा प्रवेश गरेका पाँच जना सशस्त्र आतंकवादीले एके–४७, ह्यान्ड ग्रिनेड र विस्फोटक पदार्थ प्रयोग गरेर संसद् भवनमा हमला गरेका थिए । उक्त हमलामा ९ जना सुरक्षाकर्मी र कर्मचारीको मृत्यु भएको थियो । उक्त हमलामा आक्रमणमा संलग्न ५ जना आतंकवादी पनि मारिएका थिए । संसद् भवनमा रहेका कबिर एक सय जना सांसद भने सबै सुरक्षित बनेका थिए ।
त्यसै गरी यही समूहले सन् २०१६ को जनवरी २ मा भारतको पन्जाबमा रहेको भारतीय वायु सेनाको एयर बेसमा आक्रमण गर्यो, जहाँ ७ जना भारतीय सुरक्षाकर्मी मारिएका थिए ।
उक्त घटनाको जिम्मेवारी जैश-ए-मोहम्मदले लिएको थियो, जसका योजनाकार मसूद अजहर थिए ।
यो हमलाको उद्देश्य भारतीय वायु सेनाको सैनिक संरचना माथि आक्रमण गरेर देशको सुरक्षा प्रणाली कमजोर बनाउने कोसिस रहेको भारतीय सेनाले दाबी गरेको थियो ।
घटनाको १ दिन पहिले मात्रै एक भारतीय सैनिक अपहरणमा परेका थिए, त्यसपछि आतंकवादी संगठनका ६ जना सदस्य त्यसको भोलिपल्ट अर्थात् जनवरी २ को बिहान ३ बजे सेनाको एयर बेसमा पस्न सफल भएका थिए ।
एयर बेसमा पुगेर उनीहरूले एके–४७, ग्रिनेड, विस्फोटक पदार्थ आदिले आक्रमण सुरु गरेका थिए । ३ दिनसम्म चलेको उक्त भिडन्तमा ६ जना आतंकवादी हरु समेत मारिएका थिए ।
घटनापछि भारतको गुप्तचर निकायले पाकिस्तानस्थित मसूद अजहर र उनका भाइ रौफ अजहरले हमलाको योजना बनाएको प्रमाणसहित पुष्टि गरेको थियो । त्यसमा । आक्रमणकारीको फोन र लोकेसन पाकिस्तानमा ट्रेस भएको, जैश-ए-मोहम्मदले आक्रमणको जिम्मेवारी लिएको, फोन वार्ता र जिपिएस ट्रयाकिङमा पाकिस्तानको भूमि देखिएको थियो ।
सन् २०१९ को पुलवामा आक्रमण
मसूद अजहर नेतृत्वकै जैश-ए-मोहम्मद समूहले सन् २०१९ को फेब्रुअरी १४ मा भारतको जम्बू काश्मीरमा पर्ने पुलवामा जिल्लामा आत्मघाती आक्रमण गर्यो ।
जम्बूबाट श्रीनगर जाँदै गरेको सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सिआरपिएफ)को गाडीको ताँतीमा आदिल अहमद डार नामका एक आत्मघाती आतंककारीले ३५० किलोग्राम विस्फोटक पदार्थ बोकेको मारुती कार ठोक्काइदिए । दिउँसो ३:१५ बजे मारुती कार प्रहरी बोकेको काफिलामा ठोक्काए लगत्तै अत्यधिक ठुलो आवाजमा विस्फोट भयो र गाडीमा सवार ४० प्रहरीको तत्कालै मृत्यु भयो । घटनामा आत्मघाती आक्रमणकारी आदिलको समेत मृत्यु भयो ।

घटना लगत्तै एक भिडियो सन्देशमार्फत् जैश-ए-मोहम्मदले हमलाको जिम्मा लियो । जिम्मासँगै आक्रमणकारी आदिल डारले विस्फोटअघि बनाएको भिडियोसमेत सोही समूहले सार्वजनिक गर्यो । यस घटनामा पनि भारतले पाकिस्तानलाई दोषी देख्यो ।
पहलगाम आक्रमण
यही समूहले भारतको कश्मीरमा रहेको पहलगाममा २०२५ को अप्रिल २५ मा आक्रमण गर्यो । भारतले उक्त आक्रमणको मुख्य योजनाकार लस्कर-ए-तैयबाको सहायक संगठन टिआरएफका प्रमुख शेख सज्जाद गुल रहेको दाबी गरेको छ । साथै उक्त आक्रमणमा पूर्व पाकिस्तानी सैनिक हाशिम मुसा, अली भाइ र आदिल हुसैन ठोकर तथा मसूद अजहरलाई समेत जिम्मेवार ठानिएको छ ।
उक्त घटनामा २८ जनाको हत्या भएको थो, जो इस्लाम बाहेकका अन्य धर्म मान्ने गर्दथे । हत्या गरिएकामध्ये २४ जना भारतीय पर्यटक, एक नेपाली तथा एक संयुक्त अरब इमिरेट्सका पर्यटक थिए । आक्रमणमा दुई स्थानीयको समेत हत्या भएको थियो ।
सोही आक्रमणको बदलास्वरुप भारतीय सेनाले मे ७ को बिहान पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको थियो, जुन आक्रमणमा जैश-ए-मोहम्मदका नेता मसूद अजहरका परिवारका सदस्यहरू रहेका मस्जिदमा आक्रमण गर्दा परिवारका १० सदस्यसहित १४ जनाको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया