अहिले देखिएका सबै समस्यालाई सम्बोधन गर्ने गरी आमसञ्चार विधेयक ल्याइन्छ : मन्त्री गुरुङ

लोकपथ
140
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अहिले देखिएका सबै समस्यालाई सम्बोधन गर्ने गरी आमसञ्चार विधेयक ल्याइने बताएका छन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय पत्रकारिता दिवस, २०८२ को अवसरमा बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान– २०८१ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।  

उनले आमसञ्चार विधेयक ड्राफ्टको क्रममा रहेको बताउँदै यसले सञ्चार क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिरहेको बताए । 

उनले पछिल्लो समय प्रिन्ट र बोडकास्टिङ मिडिया भन्दा अनलाइन मिडियामा धेरै समस्या देखिएको बताए  । उनले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको सामाजिक सञ्जाल ऐनलाई पेस गरिसकेको बताए । यस्तै मिडिया काउन्सिल विधेयक पनि छलफलमा रहेको जिकिर गरे ।  

उनले भने, ‘अहिले हामी यो क्षेत्रको कुराकानी गरिरहँदा हामी संक्रमणकालमा छौँ जस्तो लाग्छ । प्रेस काउन्सिलले अहिलेको सबै समस्याको सम्बोधन हुन सकेन भनेर मिडिया काउन्सिल विधेयक संसद्मा पेस गरेर छलफलको क्रममा छ । अहिले प्रिन्ट मिडिया, बोडकास्टिङ मिडियाको भन्दा पनि धेरै समस्या अनलाइन मिडियाको भएको हुनाले यसको सोसल नेटवर्क सञ्चालन र प्रयोगकर्ताहरूको व्यवस्थापन र नियमन गर्नको लागि सोसल मिडिया प्लेटफर्म प्रयोग, सञ्चालन र नियमनको लागि विधेयक पनि हामीले पेस गरिसकेका छौँ । त्यो राष्ट्रिय सभामा छलफलमा छ । आम सञ्चार विधेयकमा पनि हामी छलफलको क्रममा छौँ । ड्राफ्ट पनि हुँदैछ । यसमा हामी अहिलेको सबै समस्याको सम्बोधन गर्ने ढङ्गले त्यसलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ भनेर लागिरहेका छौँ ।’ 

उनले खतरनाक तरिकाले फैलिएको साइबर क्राइमलाई नियन्त्रण र  नियमन गर्नको लागि साइबर सुरक्षा ऐन प्रस्ताव गर्न लागिएको समेत बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?