राजनीतिक परिवर्तनमा पत्रकारको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति पौडेल

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षित र जोखिममुक्त वातावरणमा पत्रकारिताको विकासतर्फ सबैको ध्यान जानुपर्ने बताएका छन् । बुधबार राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।  

उनले सत्य तथ्य समाचारको माध्यमबाट जनतालाई सजग बनाउनु जिम्मेवार सञ्चारकर्मको दायित्व भएको बताए । उनले नेपालको राजनीतिक परिवर्तनमा पत्रकारले खेलेको भूमिका महत्त्वपूर्ण भएको बताउँदै स्वतन्त्र र निष्पक्ष पत्रकारिता भएन भने लोकतन्त्र पनि बलियो बन्न नसक्ने उनको भनाइ छ । 

उनले राष्ट्र निर्माणका लागि पत्रकारिता सशक्त र प्रभावकारी माध्यम भएको बताए । उनले संविधानको मर्म अनुसार सञ्चारकर्ममा पत्रकार सजग र  सचेत बन्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिकलगायतका अनेक परिवर्तनहरूमा नेपाली पत्रकार जगतले खेलेको भूमिका उल्लेखनीय रहँदै आएको छ । पत्रकारिता परिवर्तनको वाहक र राष्ट्र निर्माणको एउटा सशक्त र प्रभावकारी माध्यम हो । स्वतन्त्र, निष्पक्ष र तटस्थ पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो भने स्वतन्त्र र निष्पक्ष पत्रकारिताबिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन । त्यही भएर हाम्रो संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको हो । संविधानको यो मर्म र भावनाअनुसार पत्रकारलाई निर्बाध र स्वतन्त्रता पूर्वक समाचार संप्रेसन गर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व हो । यसै गरी सत्यतथ्य समाचार संप्रेषण गरेर जनतालाई सुसूचित गर्ने जिम्मेवार प्रेसको धर्म हो । यसतर्फ नेपाली प्रेस सदैव सजग र चनाखो हुने नै छ भन्ने विश्वास लिएको छु । समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुने अवस्थाको अन्त्य हुनु पर्छ । सुरक्षित र जोखिममुक्त वातावरणमा समाचार संकलन र संप्रेसन गर्ने अवस्थाको सुनिश्चिततातर्फ हामी सबैको  ध्यान जानु आवश्यक छ ।’

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक पत्रकारिताले समाजमा भ्रम सिर्जना अग्रसर भएको बताए । उनले सूचना प्रविधिको विकास र सामाजिक सञ्जालको प्रयोगमार्फत मिथ्या सूचना संप्रेषण हुनसक्ने भन्दै सजग हुनुपर्नेमा जोड दिए । 

सामाजिक सञ्जालमा संप्रेसन भएका सामग्रीबाट  आमसर्वसाधारणमा पार्न सक्ने भ्रमलाई चिरेर सही सूचना संप्रेषण गर्नु पत्रकारका लागि चुनौती भएको उनको भनाइ छ ।   

उनले भने, ‘सूचना प्रविधिको  विकाससँगै बढ्दो सामाजिक सञ्जाल र नागरिक पत्रकारिताको प्रयोगले आधा रहिन र मिध्या सूचना संप्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराको सामना गर्नु वर्तमान सञ्चारमाध्यमसामु थपिएको चुनौती हो । ’

राष्ट्रपति पौडेलले पत्रकारिता क्षेत्रले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाई जनअपेक्षा अनुसार सुशासन तथा समृद्धिमा सकारात्मक र रचनात्मक भूमिका खेल्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?