सुशासन र पारदर्शिता कार्यान्वयनमा प्रविधिको भूमिका महत्वपूर्ण : मन्त्री लामिछाने

लोकपथ
49
Shares

काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सुरजचन्द्र लामिछानेले प्रविधिको विकासले सुशासन र पारदर्शिता कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । 

सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ नयाँ प्रविधिले मुलुकको सर्वाङ्गीण विकासमा सहयोग पुगिरहेको बताए ।  

प्रविधिको उच्चतम उपयोग गर्दै सूचना तथा सञ्चारको विकासका लागि निजी क्षेत्र, सरकार र नागरिक समाज एक भएर अघि बढ्नुपर्नेमा उनको जोड छ । 

डिजिटल बागमतीका लागि आधारभूत पूर्वाधारका रूपमा रहेको डेटा सेन्टर स्थापनाका लागि प्रदेश सरकारले सम्भाव्यता अध्ययनको काम गरिरहेको जानकारी दिए । 

प्रविधिको समुचित प्रयोग गर्दै डिजिटल बागमतीका लागि स्वास्थ्यमा टेलिमेडिसिन, यातायाततर्फ लाइसेन्स प्रिन्ट र इम्बोस्ड नम्बर अनिवार्य प्रयोगका विषय तथा सवारी अनुमति पत्र जाँचका लागि उपकरण हस्तान्तरण र अपराध नियन्त्रणका लागि डिजिटल ल्याबहरू निर्माणको काम भइरहेको उनको भनाइ थियो । 

उनले भने, ‘डिजिटल बागमती निर्माणका लागि प्रदेश सरकारले बुझ्ने खालको बजेटका लागि नीति आयोगले बुझिदिएमा प्रविधिका क्षेत्रमा काम गर्न सहज हुनेछ । मन्त्रालयको कार्य जिम्मेवारीमध्ये डिजिटल विषयमा सरकारले लिएको सोच छ । सरकारले सोचेअनुसार बजेट नहुँदा काम गर्न डिजिटल बागमती बनाउन समस्या रहेको छ । डिजिटल बागमतीका लागि निजी क्षेत्रसँगै सरोकारवालाले अग्रसरता लिनुपर्छ । डिजिटल बागमती बनाउन र अपरिहार्य सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लगानी गर्न आग्रह गर्दछु ।’ 

उनले प्रदेश सरकारले डिजिटल बागमती निर्माणका प्रदेश सरकार, सरोकारवाला निकाय र सञ्चार प्रविधि क्षेत्रमा कार्यरत संघसंस्थाको सुझाव आवश्यक रहेको उल्लेख गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?