पुरातन शैली र नेतृत्व बाधक नबनिदिए मुलुक आफैँ बन्छ : विराजभक्त श्रेष्ठ

लोकपथ
112
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सरकारले ल्याएको नीति तथा कार्यक्रममा कुनै पनि समस्याको समाधान दिन सक्ने गरी नआएको बताएका छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै  अब मुलुक पुरातन शैली र पुरातन नेतृत्वबाट बन्न नसक्ने भएकाले पुरातन शैली र पुरातन नेतृत्व बाधक नबनिदिए युवाहरूले नै देश बनाउने दाबी गरे।

नीति तथा कार्यक्रममा नीति र कार्यक्रम छुट्याउन नसक्ने गरी आएको आरोप लगाउँदै उनले कार्यान्वयनको कमजोर श्रृंखला कायमै रहेको बताए । 

साथै, नीति तथा कार्यक्रममा आजको युवाको सोच र स्वभावसँग मेल खाने कुनै पनि प्रकारको कार्यक्रम नरहेको दाबी गरे । नीति तथा कार्यक्रम यथास्थितिको निरन्तरतामात्रै भएको र नीति तथा कार्यक्रममा दूरदृष्टि र आत्मनिर्भरताको अभाव देखिएको आरोप लगाए । 

उनले भने, ‘यो देश पुरातन शैलीबाट पुरातन नेतृत्वबाट बन्छ भन्ने लाग्दैन । नबिगारिदिए पुग्छ । युवाहरू आफैँले बनाउँछन् बाधक नबनिदिएपनि युवाहरू आफैँले बनाउँछन् । यसमा नीति के हो कार्यक्रम के हो भन्ने छुट्याउन सकिएन । यथास्थितिको निरन्तरतामात्रै हो यसले नवीनता सापेक्षताको अभाव छ । आर्थिक मन्दीलाई सम्बोधन गर्ने, युवा पुस्ता र भविष्यप्रति सरकार बेखबर भएको देखियो, सतही रूपमा नीति तथा कार्यक्रम आयो । दूरदृष्टि र आत्मनिर्भरताको अभाव देखियो । स्पष्ट खाका केही देखिएन । कार्यान्वयनको कमजोर श्रृंखला भयो यो जहिले पनि आर्थिक वर्षको अन्त्यमा विकास निर्माण गर्ने परिपाटीको पनि अन्त्य हुन सकेन । खर्च गर्न सक्ने क्षमतापनि सरकारसँग छैन । खर्च गर्ने प्रणाली बनाउन सक्नुपर्छ । आजको युवाको सोचलाई आवश्यकता र विश्वसँग मेलखाने कुनै पनि विषय समेटिएको छैन ।’ उनले प्राकृतिक विपत्तिका विषयमा छलफल र चिन्ता गरिने तर त्यसको पूर्व तयारीको अभाव रहेको समेत बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?