काठमाडौं । पछिल्लो समय विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठलाई रोक्नका लागि सीमा सुरक्षाको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल, नेपालले भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा सिमानामा संयुक्त रूपमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तीव्रता दिएको सशस्त्र मुख्यालयले जनाएको छ ।
यसैगरी एक बीओपीबाट अर्को बीओपीसम्म २४ घण्टा सीमा इलाकामा रहने गरी पट्रोलिङ गरिएको छ । अनधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहरुलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको र बाहिनी मुख्यालयहरूले सोहीअनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेको मुख्यालयले जनाएको छ ।
यस्तै, सीमा इलाकामा आवश्यकता अनुसार आवतजावत गर्नेहरूको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्यसमेत भइरहेको छ । सम्भावित शंकित स्थानहरूमा निगरानी एवं चेकजाँच तथा सूक्ष्म रूपमा खबर संकलन कार्य समेत गरिराखेको छ ।
सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्ने गरी वारपार गर्नेलाई निगरानी गर्ने कार्य समेत कडाइकासाथ गरिएको छ ।
तर नेपाल–भारत सिमानामा परम्परादेखि चलिआएको परम्परागत आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्य समेत गरिएको छ । यसैगरी सहरी क्षेत्रका सम्भावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरूमा निगरानी बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया