काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले मेरिटोक्रेसीको सिद्धान्तअनुसार नियुक्ति गर्नुपर्ने नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले लामो समय खर्च गरेको भन्दै आपत्ति जनाएकी छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद डाँगीले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा सरकारले ढिलाइ गरेको भन्दै आपत्ति जनाएकी हुन् ।
बर्खायाम सुरु भइसकेको र राजधानी जोड्ने सडकहरू असुरक्षित रहेको अवस्थामा सरकार जनसुरक्षा, पूर्वाधार र सेवा प्रवाहमा नभई पद बाँडफाँटमा अल्झिएको आरोप लगाइन् । सरकालाई भागबण्डाको हावादारी कुरामा समय खर्च नगर्न उनको सुझाव छ ।
उनले भनिन्, ‘सरकारले गभर्नर नियुक्त गर्न लामो समय खर्च गरेको देखिन्छ । मेरिटोक्रेसीको आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ । र सरकारको समय यस्तो हावादारी कुरामा खर्च नगर्न सुझाव समेत दिन चाहन्छु । किनभने बर्खायाम सुरु भइसकेको छ । राजधानी जोड्ने सडकहरू असुरक्षित छन् । लाखौँ नागरिक जोखिम उठाउँदै यात्रा गर्न बाध्य छन् । सरकारले यतातिर समय खर्च गरोस् । १० महिना भइसक्यो सरकार कहिले कार्यकारी निर्देशक त कहिले गभर्नरको विषयमा अड्किरहेको छ । अहिले जनताले काम खोजेका छन् । भागबण्डा गरेर कसलाई कुन पद दिने भन्ने विषय खोजेका छैनन् । ’
सरकारले भागबण्डा नमिलेका कारण गभर्नर नियुक्तिमा ढिलाइ गरेको प्रतिपक्षीले आरोप लगाउँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया