काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली (एनआरएन) लाई संविधानअनुसारको अधिकार दिलाउने र नेपालमा लगानी गर्ने कानुनी सुविधा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद गिरीले यस्तो माग गरेका हुन् ।
उनले गैरआवासीय नेपालीहरूलाई नेपालको विकासमा साझेदारको रूपमा हेर्नुपर्ने उल्लेख गर्दै उनीहरूलाई नेपाली नागरिक सरह व्यवहार गर्नुपर्ने बताए । उनले गैरआवासीय नेपाली नागरिकताको विषयमा कानुनी र कार्यान्वयन पक्षमा स्पष्टता नहुँदा लाखौँ प्रवासी नेपालीले लगानी गर्ने अवसर गुमाइरहेको बताए ।
उनले भने, ‘गैरआवासीय नेपाली (एनआरएन)हरू नेपालको विकासका साझेदार हुन् । त्यसैले संविधानले नै व्यवस्था गरेको सबै अधिकार पाउने गरी एनआरएन नागरिकताको कार्यान्वयन गर्न र नेपाली नागरिक सरह एनआरएनलाई पनि नेपालमा लगानी गर्ने कानुनी व्यवस्था गर्न म सरकारसँग जोडदार माग गर्दछु ।’
सरकारले एनआरएन नागरिकताका सम्बन्धमा केही प्रक्रिया अघि बढाए पनि पूर्ण कार्यान्वयन र व्यावसायिक हक–अधिकारको सुनिश्चितता अझै गर्न सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया