काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् ।
भारतले गए राति पाकिस्तान नियन्त्रित कश्मीरमा नौ वटा मिसाइल आक्रमण गरेको थियो । जसमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
चीनले भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेसन सिन्दूर’ लाई ‘खेदजनक’ भनेको छ ।
दक्षिण एसियाली प्रतिद्वन्द्वी मुलुकहरूबिच बढ्दो तनावबारे सोधिएको जिज्ञासामा चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीन यो परिस्थितिप्रति ‘चिन्तित’ रहेको बताएका छन् । उनले भारत र पाकिस्तान दुवैलाई ‘शान्त रहन, संयम अपनाउन र स्थितिलाई अझ जटिल बनाउने कुनै पनि कार्य नगर्न’ आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘चीनले भारतको आज बिहानको सैन्य कारबाहीलाई खेदजनक मानेको छ । चीन हालको परिस्थितिप्रति चिन्तित छ । भारत र पाकिस्तान एक–अर्काका छिमेकी हुन् र सधैँ रहिरहनेछन् । ती दुवै चीनका पनि छिमेकी मुलुकहरू हुन् । चीन सबै प्रकारका आतंकवादको विरोध गर्छ । हामी दुवै पक्षलाई शान्ति र स्थायित्वको बृहत्तर हितका लागि सोच्न, शान्त रहन, संयमता अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउने कुनै पनि कदम चाल्नबाट जोगिन आग्रह गर्छौँ ।
यस्तै, भारत सरकारले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल हमला गरेको जानकारी सार्वजनिक गरेपछि संयुक्त राष्ट्रसंघले औपचारिक प्रतिक्रिया दिएको छ । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताएका छन् । उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम संयम राख्न आग्रह गरेका छन् ।
दुजारिकले भनेका छन्, ‘भारत र पाकिस्तानबिच कुनै पनि प्रकारको सैन्य भिडन्त संसारका लागि असह्य हुनेछ ।’
यसअघि, ५ मेमा एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल एक्समार्फत एक पोस्ट गर्दै भारत र पाकिस्तानबिचको तनाव पछिल्ला केही वर्षमा सबैभन्दा गहिरो रहेको उल्लेख गरेका थिए । उनले २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी हमलाको कडा निन्दा पनि गरेका थिए ।
यस्तै, भारत र पाकिस्तानबिचको स्थितिबारे अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रतिक्रिया जनाएका छन् । भारतको आक्रमणप्रति प्रतिक्रिया दिँदै उनले भनेका छन्, ‘हामी यस स्थितिमाथि निगरानी गरिरहेका छौँ ।’
रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘म भारत र पाकिस्तानबिचको अवस्थालाई गम्भीरतापूर्वक हेरिरहेको छु ।’
उनले अगाडि थपेका छन्, ‘म राष्ट्रपति डोनाल्ड ट्रम्पको यो तनाव चाँडै अन्त्य होस् र भारत तथा पाकिस्तान दुवै मुलुकका नेतृत्वसँग वार्तामार्फत शान्तिपूर्ण समाधान खोज्ने प्रयास जारी रहनेछ भन्ने टिप्पणीसँग सहमत छु ।’
भारतका लागि इजरायलका राजदूत रुवेन अजरले पनि भारतीय सेनाको ’अपरेसन सिन्दूर’प्रति प्रतिक्रिया जनाएका छन् । भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको विषयमा बुधबार इजरायलका राजदूत अजरले इजरायलले भारतको आत्मरक्षाको अधिकारलाई समर्थन गर्ने बताएका हुन् ।
‘इजरायलले भारतको आत्मरक्षाको अधिकारलाई समर्थन गर्छ । निर्दोषविरुद्धको जघन्य अपराधबाट लुक्ने कुनै ठाउँ छैन भनेर आतंककारीले थाहा पाउनुपर्छ,“ इजरायली राजदूतले एक्समा पोस्टमा भनेका छन् ।
तर, दक्षिण एसियाका दुई आणविक शक्ति भारत र पाकिस्तानबिच सैन्य कारबाही चलिरहेका बेला सार्क अध्यक्ष समेत रहेको नेपालले कुनै प्रतिक्रिया दिएको छैन ।
भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा आतंकी ठेगानमाथि गरेको भनेर थालेको सैन्य कारबाही र त्यसको प्रतिवादमा पाकिस्तानले थालेको हमलाबारे सार्क अध्यक्ष नेपालले अहिलेसम्म आफ्नो धारणा व्यक्त गरिसकेको छैन ।
नेपाली नागरिक सुदिप न्यौपानेसहित २६ जनाको हत्या भएको पहलगाम आतंकवादी हमलापछि भारतले गरेको यो ठूलो सैन्य कारबाही हो । नेपालले सो आतंकी हमलाको निन्दा गर्दै आतंकवादविरुद्ध भारतको साथमा रहेको प्रतिक्रिया दिएको थियो । नेपाल र भारतका प्रधानमन्त्रीबिच सो घटनालगत्तै टेलिफोन संवाद समेत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया