दुर्घटना भएको किङ लङ इभी भ्यानको ब्रेक फेल भएको होइन : यातायात समिति

लोकपथ
3.6k
Shares

काठमाडौं । आइतबार बिहान रत्नपार्कमा दुर्घटना भएको इभी भ्यान ब्रेक फेल भएर नभई अन्य कारणले दुर्घटना भएको समितिले जनाएको छ । बुधबार कलंकीमाई विद्युतीय माइक्रो बस समितिले एक विज्ञप्ति जारी गर्दै ब्रेक फेल नभई अन्य कारणबाट दुर्घटना भएको दाबी गरेको हो ।

समितिका अध्यक्ष कृष्ण प्रसाद घिमिरेबाट बुधबार जारी विज्ञप्तिमा गत आइतबार बिहान भएको दुर्घटना ब्रेक फेल भएर नभई चलिरहेको इभी भ्यानको अगाडि मोटरसाइकल आइपुग्दा उक्त मोटरसाइकललाई बचाउन खोज्दा दुर्घटना भएको जनाएको छ । दुर्घटनापछि पनि उक्त भ्यान चलाएर ट्राफिक प्रहरी कार्यालयसम्म पुराइएको भन्दै भ्यानको ब्रेक अहिलेसम्म पनि राम्रोसँग लागिरहेको र कुनै यान्त्रिक खराबी नभएको दाबी गरेको हो ।

समितिले जारी गरेको विज्ञप्ति अनुसार उक्त दिन बिहानैदेखि पानी गरिरहेको थियो । सोही समयमा चलिरहेको इभी भ्यानको अगाडि एउटा मोटरसाइकल अकस्मात् आइपुगेको र उक्त मोटरसाइकललाई ठक्कर दिनबाट बचाउन खोज्दा चालक कपिल पाण्डेले सवारीलाई विपरीत दिशातर्फ मोड्दा सडकको बिचमा राखिएको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । केही सञ्चारमाध्यममा ब्रेक फेल भएको कारण दुर्घटना भएको समाचार आएको भन्दै ब्रेक अहिले पनि ठिक रहेको र कुनै खराबी नभएको तर आकस्मिक परिस्थितिका कारण दुर्घटना भएको बताएको छ ।

समितिले जारी गरेको विज्ञप्तिमा सञ्चारमाध्यममा ब्रेक फेल भनी आएको समाचारप्रति आपत्ति जनाइएको छ र समाचारहरू समिति तथा कम्पनीलाई क्षति पुराउने उद्देश्यबाट प्रेरित रहेको दाबी गरिएको छ ।

गत वैशाख २१ गते बिहान पौने ६ बजे रत्नपार्कमा बागमती प्रदेश ०१–००२ ज ७०५२ नम्बरको किङ लङ इभी भ्यान दुर्घटना भएको थियो । दुर्घटनाको विषयमा केही सञ्चारमाध्यममा समाचार पनि आएको थियो र चालक पाण्डेले ब्रेक फेल भएको भनी बयान दिएको दाबी गरिएको थियो । तर प्राविधिक परीक्षणमा ब्रेक फेल नभएको र सबै ठिकठाक रहेको पाइएको जनाइएको छ ।

समितिको विज्ञप्तिमा भनिएको छ,

‘समाचारमा अनावश्यक रूपमा चालक, सवारी साधनको ब्रान्ड र हाम्रो संस्थाको छविलाई क्षति पुर्‍याउने शैलीमा विवरण प्रस्तुत गरिएको छ, जुन निन्दनीय छ । वास्तविकता के हो भने सो दिन बिहान वर्षा भइरहेको थियो, सोही बेला एक मोटरसाइकल अकस्मात् गाडीको अगाडि आएपछि गाडीका चालक श्री कपिल पाण्डेले ज्यान जोगाउन तत्काल सवारीलाई विपरीत दिशातर्फ मोड्न बाध्य भए । यसै क्रममा गाडी डिभाइडरसँग सामान्य रूपमा ठोक्किएको हो, जुन ब्रेक असफलताको कारण नभई आकस्मिक परिस्थितिको परिणाम हो । प्राविधिक परीक्षण तथा चालकको बयानअनुसार गाडीको ब्रेक प्रणाली पूर्ण रूपमा क्रियाशील रहेको पुष्टि भएको छ ।’

समितिले आफ्नो विज्ञप्तिमा चालकको तदारुक प्रतिक्रिया र सावधानीका कारण सम्भावित ठुलो दुर्घटना टरेको समेत भनेको छ भने दुर्घटनाको मुख्य कारणमा अचानक मोटरसाइकलको प्रवेश र भिजेको सडक रहेको दाबी गरेको छ ।

सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै समितिले भनेको छ, ‘कुनै प्राविधिक परीक्षणको आधार नलिईकन, केवल अनुमानमा आधारित अपुष्ट विवरण प्रस्तुत गरिएको छ । यसले कलंकी माई समिति, सिजी मोटर्स तथा ‘किङ लङ’ ब्रान्डको प्रतिष्ठामा नकारात्मक प्रभाव पार्ने प्रयास भएको देखिन्छ, जुन नियोजित र दुर्भावनायुक्त देखिन्छ ।’

समितिले आफ्नो विज्ञप्तिमा आफूहरू इभी भ्यानको ब्रान्डसँग सन्तुष्ट रहेको समेत दाबी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी सिजी मोटर्स तथा किङ लङ ब्रान्डप्रति पूर्ण विश्वास राख्दछौँ र यो स्पष्ट रूपमा भन्छौँ कि उक्त दुर्घटनामा ‘ब्रेक फेल’ भएको भन्ने कुरा पूर्णतः निराधार, भ्रामक र तथ्यहीन हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?