काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले करिब २ वर्षको अवधिमा संगठनको पोसाक लगाई संगठनको नीति निर्देशनविपरीत सामाजिक सञ्जालमा विभिन्न क्रियाकलाप गरेको तस्बिर तथा भिडियो अपलोड गर्ने सशस्त्र प्रहरी नायव निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्मका १ सय ६६ जना कर्मचारीहरूलाई विभागीय कारबाही गरेको छ ।
उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोसाक लगाई व्यक्तिगत प्रोफाइल मार्फत भिडियो तथा तस्बिर फेसबुक, म्यासेन्जर, ट्विटर (एक्स), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याटलगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए । कारबाही परेकाहरूमा सशस्त्र प्रहरी नायव निरीक्षक १२ जना, सहायक निरीक्षक ६ जना, वरिष्ठ हवलदार ९ जना, हवलदार ५ जना, सहायक हवलदार १० जना, जवान १ सय २१ र परिचर ३ जना रहेका छन् ।
उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गराइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । त्यसमध्ये १ सय १८ जनालाई नसिहत दिइएको छ ।
सशस्त्र प्रहरी बल नेपालले संगठनको बारेमा प्रकाशित भएका समाचारहरूमा नकारात्मक टिका टिप्पणी गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत कारबाही गर्दै आएको छ ।
संगठनको नियम विपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई नियमन गर्न प्रधान कार्यालयमा सामाजिक सञ्जाल अनुगमनसम्बन्धी शाखा स्थापना गरिएको छ । यसैगरी ४ जना कर्मचारी कारबाही प्रक्रियामा रहेका छन् ।
प्रधान कार्यालयले गत चैत २८ गते मातहत कार्यालयहरूमा आदेशात्मक पत्राचार गर्दै कारबाही गर्न भनिएकाहरूमा सशस्त्र प्रहरी सहायक हवलदार १ जना र जवान ३ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया