काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टीका संस्थापक रेशमलाल चौधरी पक्राउ प्रकरणबारे पुनः सरकारको जवाफ माग गरेको छ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पार्टी अध्यक्ष समेत रहेकी सांसद रञ्जिता श्रेष्ठ चौधरीले सो विषयमा सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले विशेष समयमा बोल्दै रेशमलाई बिना कारण पक्राउ गरिएको भन्दै त्यसको निष्पक्ष छानबिनका लागि आग्रह गरिन् ।
त्यस्तै उनले रेशम पक्राउ प्रकरणले लोकतन्त्रमाथि प्रहार भएको दाबी गर्दै त्यसको निष्पक्ष छानबिनका लागि माग गरेकी छन् ।
त्यस घटनाबारे सरकारको जवाफ माग्दै उनले भनेकी छन्, ‘सरकारप्रति विश्वास राखेर आग्रह गर्न चाहन्छु । यो घटनाको गहिरो अध्ययन होस् किनभने यहाँ केवल एकजनाको गिरफ्तारी होइन संघीयता, समावेशिता र लोकतन्त्रप्रतिको विश्वासमा चोट लागेको छ । म यो सदनमार्फत् सरकारसँग माग गर्दछु कि वैशाख १७ गतेको घटनामा भएको प्रशासनिक मनोमानीको निष्पक्ष छानबिन होस् । रेशम चौधरीप्रति भएको व्यवहारको सार्वजनिक जवाफ देओस् हामी जवाफको प्रतिक्षामा छौँ । हामी भावी दिनमा जनप्रतिनिधिमाथि यस किसिमको व्यवहार पुनः नदोहोरोरियोस् भन्न प्रत्याभूती ग र्न चाहन्छु । अन्त्यमा म एउटा श्रीमती, एक राजनीतिज्ञ र एक आम नागरिकको नाताले यो सदनसँग यतिमात्र अनुरोध गर्न चाहन्छु । लोकतन्त्रप्रति हाम्रो विश्वास कायम रहोस् र सत्यप्रति सरकारको जवाफदेहिता नटुटोस् ।’
०७२ सालको टीकापुर हत्या काण्डका मुख्य दोषी देखिएको रेशम जेलमा रहेका बेला राष्ट्रपतिले आममाफी दिएपछि बाहिर निस्किएका थिए । गत असार १७ गते सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टले अनाधिकृत पत्र लेख्दै उनलाई पुनः पक्राउ गरी पुरानो मुद्दा फैसलालाई कार्यान्वयन गर्न लागिएको डिल्लीबजार कारागारलाई पत्र लेखेका थिए । सोही पत्रका आधारमा चौधरी करिब ५ घण्टा डिल्लीबजार कारागारमा बसेका थिए । तर सो पत्र अनाधिकृत रहेको खुलेपछि उनी सोही दिन नै थुनामुक्त भएका थिए ।
त्यसो त सोही दिन सरकार छाड्ने तयारी गरेको नाउपाले रेशम छुटेपछि आफ्नो निर्णय फेरेको थियो । यता सोमबारको बैठकमा बोल्दै नाउपाका सांसद लालवीर चौधरीले सो घटनाको विषयमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए । साथै आजसम्म जवाफ नआएमा आफूहरुले सरकार छाड्ने धम्की समेत दिएका थिए । तर आज पुनः पूर्वमन्त्री एवं रेशमपत्नी समेत रहेकी रञ्जिताले सरकारको जवाफ माग गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया