५ सय रुपैयाँको विवादले भेटेरिनरी अस्पतालभित्रै कर्मचारीमाथि मुक्का प्रहार (भिडियोसहित)

लोकपथ
14.4k
Shares

झापा । मात्रै ५ सय रुपैयाँको विवादले सरकारी कर्मचारीमाथि मुक्का प्रहार ! त्यो पनि सरकारी कार्यालयभित्रै ? हो, झापामा सोमबार अपराह्न यस्तै भयो । झापाको भद्रपुरमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, झापामा यस्तै भयो ।

करिब ५ सय रुपैयाँको विवादमा सातौँ तहका पशु चिकित्सकले पाँचौँ तहका कर्मचारीमाथि मुक्का हाने । त्यति मात्रै होइन, तीन टुक्रा पारिदिने धम्कीसमेत दिन भ्याए । सानो हम्मर (मार्तल)ले आक्रमण गर्न खोजेपछि हम्मर खोस्दा अर्का एक कर्मचारीको टाउको फुट्यो ।

पहिले यो पूरा भिडियो हेर्नुहोस् ।

करिब २ मिनेट १० सेकेन्ड लामो भिडियोमा सरकारी सर्ट र परिचय पत्र लगाएका एक सरकारी कर्मचारी हातमा मार्तल (हथौडा) लिएर आई एक व्यक्तिसँग औँला ठड्याउँदै धम्की दिइरहेको देख्न सकिन्छ ।

दुई जनाबिच करिब ४० सेकेन्ड भनाभन हुन्छ र सेतो सर्ट लगाउने व्यक्तिले अर्का व्यक्तिलाई धम्की दिइरहन्छन् ।

त्यसपछि सेतो सर्ट लगाउने व्यक्तिले अर्का व्यक्तिमाथि मुक्का हान्छन् । मुक्का खाने व्यक्तिले सुरुमा प्रतिकार गर्न खोजेपनि पछि प्रतिकार गर्दैनन् ।

हातमा फलामको मार्तल बोकेका व्यक्ति आक्रामक देखिन्छन् र पुनः आक्रमण गर्ने हो कि भन्दै रातो सर्ट लगाएका व्यक्तिले सेतो सर्ट लगाउने व्यक्तिलाई समातेर रोक्न खोज्छन् ।

कुटपिट र बचाउमा उत्रिएका यी तीन जनामध्ये सेतो सर्ट लगाउने व्यक्ति हुन्, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, भद्रपुर झापामा कार्यरत सातौँ तहका पशु चिकित्सक सुजन राई । अनि मुक्का खाने व्यक्ति पनि सोही अस्पतालमा पाँचौँ तहमा कार्यरत रोहित महत हुन् । सेतो सर्ट लगाउने सुजन राईले लिएको मार्तल खोस्न खोज्ने रातो सर्ट लगाएका व्यक्ति पनि सोही कार्यालयमा चौथो तहमा कार्यरत दिवाकर सुनरैत हुन् ।

सातौँ तहका राईले पाँचौँ तहका महतमाथि मार्तलले आक्रमण गर्ने कोसिस गरेपछि मार्तल खोस्न खोज्दा चौथो तहका कर्मचारी दिवाकर पनि घाइते भए । मार्तल खोस्न खोज्दा राईको हातमा रहेको मार्तलले दिवाकरको टाउकोमा ठक्कर लाग्दा उनको टाउकोबाट समेत रगत बग्न थाल्यो ।

यति हुँदा पनि राईको रिस शान्त भएन । राई पुनः फर्की फर्की महतमाथि मुक्का प्रहार गर्न थाले ।

भिडियोमै एक महिलाले रगत बगेको दिवाकरको टाउकोमा हात राखेर रगत रोक्ने कोसिस गरेको देखिन्छ ।

सरकारी कार्यालयभित्रै भएको यो कुटपिटमा संलग्न राई कुटाई खाने महतलाई बाहिरसम्म नै गएर मुक्का हान्न थाले । त्यसपछि कर्मचारी र स्थानीयले देखेर यो के गरेको भन्दा राईले उल्टै यिनीहरू दुई जना भएर ममाथि कुटपिट गरे भन्ने आरोप लगाए ।

सरकारी कार्यालयभित्रै कुटपिट भएको विषय प्रहरीकोमा पुगेपछि प्रहरी आएर दुबै जनालाई लिएर प्रहरी कार्यालयमा गए ।

राईको रिस त्यतिमा पनि शान्त भएन, उनले कार्यालय प्रमुख शीतल भट्टराईलाई फोन गरेर २४ घण्टाभित्र कुटाई खाने महतलाई कार्यालयबाट नहटाए महतलाई आफूले तीन टुक्रा पारिदिने धम्कीसमेत दिएको पीडित महतले लोकथपलाई बताए ।

भएको के हो ?
यस घटनाका सम्बन्धमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, भद्रपुर झापामा सम्पर्क गर्दा कार्यालय प्रमुख शीतल भट्टराईले कर्मचारीबिचको आन्तरिक विवादले घटना भएको र अहिले सिडिओ कार्यालयमा गएर छलफल गरी मिलाउने कार्य भइरहेकाले त्यस विषयमा थप नबोल्ने बताइन् ।

कार्यालय प्रमुख शितल भट्टराई

यता घटनामा कुटाई खाने रोहित महतले घटना किन भयो भन्ने विषयमा लोकपथलाई यसरी बेलिबिस्तार लगाए ।

कुटाई खाने व्यक्ति म रोहित महत नै हो भने कुट्ने व्यक्ति सातौँ तहका पशु चिकित्सक सुजन राई हुन् । मैले लिक्युड नाइट्रोजन ग्यास र सिमेन दिन अस्वीकार गरेपछि उनले म माथि आक्रमण गरेका हुन् ।
– खासमा हाम्रो कार्यालयबाट सिमेन अर्थात् उन्नत जातका वीर्य पनि विक्री हुने गर्दछ । यस्तो सिमेन सरकारले दिने नभई हामी आफैँले किन्नुपर्छ र पहिले सरकारले २५ रुपैयाँ तोकेकामा हाल ५० रुपैयाँ पुगेको छ । यो किन्ने पैसा बजेटमा नआउने भएकाले हामी आफैँले किनेर विक्री गर्ने गरेका छौँ । खासमा उक्त सिमेन किनेर विक्री गर्ने जिम्मा पनि मलाई नै दिएकाले उक्त काम मैले नै गर्दै आएको छु ।
– त्यो सिमेनलाई बचाई राख्नका लागि चाहिने केमिकल हो, लिक्युड नाइट्रोजन, त्यो चाहिँ सरकारले नै दिने गरेको छ ।
– हाम्रो कार्यालयमा लिक्युड नाइट्रोजनको भण्डारणको जिम्मा मलाई दिइएको छ र कति आयो, कहाँ गयो भनेर त्यसको हिसाबकिताब राख्ने जिम्मा मेरो छ ।
– राई सरले म सँग पटक पटक उक्त लिक्युड नाइट्रोजन ग्यास लैजानुभयो, तर त्यसको रेकर्ड वा प्रतिवेदन उपलब्ध गराउनुभएन । मैले पटक पटक माग गरेँ, तर पनि उहाँले त्यो दिनुभएन । त्यसबाहेक मसँग लगेको सिमेन अर्थात् पशु वीर्यको पैसा पनि उहाँले दिनुभएको थिएन । त्यो रकम करिब ५ सय जति छ ।
– उहाँले सोमबार पनि म सँग फेरि लिक्युड नाइट्रोजन र सिमेन माग गर्नुभयो । मैले पहिलेको लिक्युड नाइट्रोजनको प्रतिवेदन र सिमेनको पैसा दिन भनेँ । उहाँले त्यो नदिई फेरि पनि सोही सामान माग गरेपछि मैले पहिले प्रतिवेदन नआई दिन्न भनेँ । त्यसपछि उहाँले तँ को होस् र मलाई नदिने भन्दै धम्की दिन थाल्नुभयो । मैले पहिले प्रतिवेदन दिएपछि दिन्छु भनेँ । त्यसपछि उहाँले हाकिमलाई अर्डर दिने भन्दै एक्कासी म माथि मुक्का प्रहार गर्नुभयो ।
– उहाँसँग करिब एक महिनादेखि नै प्रतिवेदनको विषयमा विवाद थियो । उहाँले मलाई पहिलेदेखि नै पटक पटक धम्की दिनुभएको थियो । सोमबार पनि उहाँ हातमा मार्तल लिएर आउनुभएको थियो । मलाई त्यही मार्तलले आक्रमण गर्ने योजना थियो कि के थियो, त्यो त थाहा भएन ।
– उहाँले मार्तलले नै आक्रमण गर्न सक्ने भयले अर्का सहकर्मी दिवाकर सुनरइत जीले उक्त मार्तल खोस्न खोज्नुभयो । त्यति बेला उक्त मार्तलले लागेर दिवाकर जीको टाउकोमा समेत चोट लाग्यो र रगत बग्यो, त्यो भिडियोमा पनि देख्न सकिन्छ ।
– उहाँले पछि पनि म माथि आक्रमण गर्नुभयो, जुन सबै कुरा सिसी क्यामेरामा रेकर्ड भइरहेको रहेछ ।
– पछि बाहिर गएर स्थानीयसँग भने उहाँले झुट बोल्नुभयो । बरु म र दिवाकार जी ले नै कुटपिट गरेको आरोप लगाउनुभयो । तर उहाँको झुट त सिसी क्यामेराको रेकर्ड मै पक्रिहाल्यो ।
– त्यस लगत्तै उहाँले कार्यालय प्रमुखलाई फोन गरेर २४ घण्टाभित्र मलाई त्यहाँबाट नहटाए तीन टुक्रा पारेर फालिदिन्छु भन्ने धम्कीसमेत दिनुभयो । मलाई पनि मारिदिने धम्की दिनुभएको छ ।
– त्यसपछि प्रहरी आएपछि प्रहरी कार्यालयमा बोलाइएको हो ।
– आज सिडिओ कार्यालयमा छलफल छ । हामी त्यहाँ जाँदै छौँ । अब कानुनी कारबाहीमा जाने कि के गर्ने भन्ने सम्बन्धमा छलफल भएपछि बाँकी कुरा हुनेछ ।

घटनाका विषयमा सुजन राईसँग कुराकानी गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । धनकुटामा जन्मिएर मोरङको पथरीमा बस्ने राई सातौँ तहका भेटेरिनरी डाक्टर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?