नक्कली भ्याट बिल बेच्ने ठेकेदारविरुद्ध एक अर्बभन्दा बढीको राजश्व छली मुद्दा दायर

लोकपथ
3.8k
Shares

काठमाडौं । नक्कली भ्याट बिल बेच्ने एक ठेकेदारविरुद्ध १ अर्ब भन्दा बढी रकमको राजश्व छलीको मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभाग हरिहरभवनले ध्रुव कन्स्ट्रक्सन प्रालिविरुद्ध सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

राजश्व अनुसन्धान विभागकी प्रवक्ता कृष्ण कुमारी श्रेष्ठका अनुसार ठेक्कापट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सनका सामानको खरिद बिक्री गर्ने भनी दर्ता भएको ध्रुव कन्स्ट्रक्सन प्रालिले सामान नदिई भ्याट बिल मात्रै विक्री वितरण गरेको पाइएको हो ।

सामान खरिद नै नगरी विक्री गरेको देखाई भ्याट बिलको मात्रै कारोबार गरेको र त्यसबाट भ्याट रिटर्न लिएको पाइएपछि ध्रुव कन्स्ट्रक्सन प्रालिका सम्बन्धमा विभागबाटै अनुसन्धान भएको थियो ।

अनुसन्धानपछि ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी भ्याट बिल मात्रै विक्री गरेको पाइएको थियो । त्यसबाहेक खरिद गरिएको भनिएको सामानको भुक्तानी बैंकमार्फत नगरिएको, बिल बीजकहरू सिलसिलेवार जारी नगरेको, मूल्य अभिवृद्धि कर विवरण र आय विवरण दाखिला नगरेको तथा मूल्य अभिवृद्धि कर र आयकर तर्फ झुट्टा विवरण पेस गरेको पाइएको हो ।

आफ्नै नाममा दर्ता भएको ध्रुव कन्स्ट्रक्सन प्रालि र त्यसका सञ्चालक ध्रुव देवले नक्कली भ्याट बिल बेचेर मात्रै ४५ करोड ८० लाख ८३ हजार ४३४ रुपैयाँ कर छली गरी भ्याट फिर्ता लिएको पाइएको हो ।

त्यसै गरी भ्याट रिटर्न लिई भएको आय मात्रै १४ करोड ६५ लाख ३१ हजार ८२४ रुपैयाँ रहेको पाइएको छ । नक्कली भ्याट बिल विक्री तथा आयकर छली गरी कुल ६० करोड ४६ लाख १५ हजार २५८ रुपैयाँ राजश्व छली गरेको ठहर गर्दै त्यही रकमलाई बिगो कायम गरी असुल उपरका लागि मुद्दा दायर भएको हो ।

त्यसै गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा १ बमोजिम बिगो बराबरकै जरिवाना कायम गरी असुल उपरका लागि मुद्दा दायर भएको हो ।

यसरी ध्रुव कन्स्ट्रक्सन प्रालिले कुल ६० करोड ४६ लाख १५ हजार २५८ रुपैयाँ राजश्व छली गरेकामा सोही रकम बराबर नै जरिवाना गरी कुल १ अर्ब २० करोड ९२ लाख ३० हजार ५१६ रुपैयाँ असुल उपर गर्न मागदाबी लिई मुद्दा दायर भएको हो ।

साथै प्रतिवादी बनाइएको ध्रुव देवलाई सोही ऐनको दफा २३ को उपदफा १घ अनुसार ५ वर्षको कैद सजाय समेत मागदाबी लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?