काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले मुख्य समस्या आर्थिक नीतिमा रहेको बताएका छन् । प्रतिनिधि सभामा सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठकमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले नीति तथा कार्यक्रमले नेपालको अवस्था, आवश्यकता, अवसर र चुनौतीहरूलाई वस्तुपरक ढंगले सम्बोधन गर्न नसकेको बताए । उनले नीति तथा कार्यक्रम समस्याको केन्द्रमा पुग्नै नचाहेको आरोप लगाउँदै यसले समाधान निकाल्छ भन्नेमा विश्वस्त हुन नसकिने टिप्पणी गरे ।
पूर्वमन्त्री समेत रहेका बस्नेतले समस्या नीति, संस्थागत व्यवस्थापन, विकास मोडल, शैली र आचरणमध्ये कुनमा हो भनेर त्यसको निरूपण गर्नुपर्ने बताउँदै त्यसो हुन नसक्दा बुझाइमा विविधता देखिँदै आएको बताए । उनले मुख्य समस्या आर्थिक नीति, संघीय लोकतान्त्रिक गणतन्त्रलाई बुझ्नेकुरा र संवैधानिक व्यवस्था र हामीले अभ्यास गरिरहेको अर्थ राजनीतिको बिचको सामञ्जस्यता कायम राख्न नसक्नुमा रहेको उनले स्पष्ट पारे ।
उनले अहिलेको नीति तथा कार्यक्रम निराशाजनक रहेकोले यसले निकास दिन नसक्ने पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया