काठमाडौं महानगरको निर्देशन– ‘विद्यालयमा विद्यार्थीले नेपाली बोल्दा दण्ड जरिवाना नगर्नू’

लोकपथ
1.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर अन्तर्गतका विद्यालयहरुलाई विद्यार्थीले अंग्रेजी भाषा नबोलेकै आधारमा दण्ड र जरिवाना नगर्न निर्देशन दिएको छ ।

महानगर मातहत पर्ने केही सामुदायिक र संस्थागत विद्यालयहरुले अंग्रेजी नबोल्ने विद्यार्थीहरुलाई जरिवाना गरिरहेको गुनासोपछि महानगर एक्सनमा उत्रिएको हो ।

महानगरको शिक्षा शाखा प्रमुख नेत्रनारायण पौडेलले आज विज्ञप्ति जारी गर्दै अंग्रेजी बाहेकका विषयमा कक्षाकोठा र विद्यालय परिसरमा अंग्रेजी नबोलेकै आधारमा दण्डित र जरिवाना नगर्न निर्देशन दिएका हुन् । साथै यदी त्यसरी दण्ड र जरिवाना गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिँदै त्यसो गरेको भए तत्काल रोक्न समेत निर्देशन दिइएको हो ।

‘यस महानगरपालिका अन्तर्गतका शिक्षण सिकाइको माध्यम अंग्रेजी भएका केही विद्यालयहरुले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भन्ने गुनासोप्रति यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘यदी कुनै विद्यालयले शिक्षणको माध्यम अंग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अंग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूची गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?