प्रचण्डको आरोप– ‘सरकारले जनताको मुद्दा छाड्यो, विचौलियाको चंगुलमा फस्यो’

लोकपथ
196
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार जनताको मुद्दा छाडेर बिचौलियाको पञ्जामा परेको आरोप लगाएका छन् ।

सोमबार नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै प्रचण्डले सो आरोप लगाएका हुन् ।

उनले वर्तमान सरकार जनताको सेवाभन्दा स्वार्थ समूह र विचौलियाको नियन्त्रणमा चलेको आरोप लगाए ।

‘मैले यसअघि पनि सरकारलाई खबरदारी गरेको थिएँ,’ प्रचण्डले भने, ‘सरकार जनताप्रति गैरजिम्मेवार देखिन्छ, तर स्वार्थ समूह र विचौलियाप्रति खुलेर समर्पित छ ।’

त्यस्तै उनले उद्योगीका अर्बौैँ बक्यौता उठाउन नखोज्ने तर गरिब जनताको घरमा विद्युत लाइन काटिने गरिएको भन्दै कटाक्ष गरे ।

‘उद्योगीका अर्बौँ बक्यौता उठाउन खोजिँदैन, तर गरीबको लाइन काटिन्छ । यस्तो विसंगति जनआक्रोशको कारण बनेको छ,’ प्रचण्डले भने ।

त्यस्तै सरकारको कार्यशैलीले लोकतन्त्र नै संकटमा पारिएको आरोप लगाए । सरकारको गलत रवैयाका कारण सामाजिक सञ्जालमा पोखिइरहेको आक्रोश भोलि सडकमा पोखिन सक्ने चेतावनी समेत दिए ।

‘सरकारको असंवेदनशीलता र स्वेच्छाचारिताले प्रतिगामी शक्तिहरूलाई पुनः शिर उठाउने मौका दिएको छ,’ उनले भने, ‘हिजो सामाजिक सञ्जालमा सीमित आक्रोश भोलि सडकमा पोखिन सक्छ ।’

दश महिनाको कार्यकालमा सरकारले कुनै पनि दृष्टिले सुध्रिएको प्रमाण नदेखिएको भन्दै अध्यक्ष प्रचण्डले सरकारको गठन नै सीमित वर्गको स्वार्थका लागि भएको दाबी गरे ।

साथै सरकारकै संयन्त्रका बसेर काम गरिरहेका सदस्यले प्रधानमन्त्रीको बेडरुमसम्म विचौलिया रहेको आरोप लगाएको स्मरण गर्दै उनले भने, ‘जब सत्ता संयन्त्रकै सदस्यहरूले प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच भएको भनी सार्वजनिक रूपमा बोल्न थाल्छन्, त्यो शासनको गम्भीर नैतिक पतन हो ।’

साथै सार्वजनिक संस्थानहरूमा चरम राजनीतिक हस्तक्षेप, नियुक्तिमा विचौलियाको हावी, सेवा प्रवाहमा जनताको अपमानजनक अवस्था र सात बुँदे सहमतिप्रति सरकारको बेवास्ता गरेको भन्दै चिन्ता व्यक्त गरे ।

त्यस्तै नीति तथा कार्यक्रमलाई जनअपेक्षा अनुसार परिमार्जन गरी समावेशी, उत्पादनमुखी र जनमुखी कार्यक्रमसहित बजेटसँग सामञ्जस्य हुने गरी पुनः संरचना गर्नुपर्नेमा उनले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?