किराना सामानमा लुकाएर लैजाँदै गरेको कपडासहितको ट्रक प्रहरीको नियन्त्रणमा

लोकपथ
1.5k
Shares

काठमाडौं । किराना तथा खाद्यान्न सामानभित्र लुकाई छिपाई लैजाँदै गरिएको १८ पोका लत्ताकपडासहितको ट्रक सशस्त्र प्रहरी बलले पाल्पाबाट नियन्त्रणमा लिएको छ।

रुपन्देहीको भैरहवाबाट म्याग्दीतर्फ जाँदै गरेको लु.२ ख ५४५३ नम्बरको ट्रक तानसेन नगरपालिका–१ राईडाडा स्थित सिद्धार्थ राजमार्गमा राति साढे १ बजे सशस्त्र प्रहरीले रोकेर जाँच गर्दा लत्ताकपडा फेला परेको हो ।

सशस्त्र प्रहरी बल नेपाल मुख्यालयको विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नं.३५ गुल्म पाल्पाको टोलीले सो ट्रक नियन्त्रणमा लिएको हो । ट्रकमा रहेको किराना तथा खाद्यान्न सामग्रीको विधिवत बिलबिजक भए पनि लत्ताकपडाको कुनै पनि बिलबिजक नभेटिएको प्रहरीले जनाएको छ।

ट्रक नियन्त्रणको क्रममा चालक फरार भएका छन् भने सहचालक, रुपन्देही बुटवल उपमहानगरपालिका–१३ बेलवासका २० वर्षीय मिखिल पुनलाई नियन्त्रणमा लिइएको छ।

उक्त कपडा रुपन्देहीको सिद्धार्थनगर–४ स्थित गल्लामण्डी भैरहवाको ‘प्रतिक किराना स्टोर’बाट म्याग्दीको ‘सम्झाना ट्रेडर्स बेनी’को नाममा तयार पारिएको किराना सामानको बिलबिजकमा लुकाएर पठाइएको थियो।

सशस्त्र प्रहरीले ट्रक, बरामद लत्ताकपडा र सहचालकलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल रुपन्देहीमा बुझाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?