काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले नेपालको राजतीतिक परिवर्तन र त्यसयताका सरकारको अस्थिरताबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै थापाले ००७ सालमा प्रजातन्त्र स्थापनापछि नेपाल स्थिर बाटोमा जान लागेको बताउँदै तत्कालीन राजाकै कारण अस्थिरता निम्त्याउने काम भएको टिप्पणी गरे ।
उनले प्रजातन्त्रपछि आधुनिक नेपालको निर्माणको क्रम सुरु भएको तर ०१७ सालको घटनापछि पुनः नेपालमा अस्थिरता सुरु भएको दाबी गरे ।
‘००७ सालमा प्रजातन्त्र त आयो । आधुनिक नेपालको निर्माणको क्रम त सुरु भयो । तर त्यसपछि स्थिरता झन संकटमा पर्यो । सुरुमा आन्दोलनको नेतृत्व गरेका वीपी कोइराला र मातृकाप्रसाद कोइरालाबिच हानथाप र झगडा खेल्दै र खेलाउँदै अन्ततः ०१७ साल पुस १ गते कालो काण्ड रचियो,’ उनले भने ।
त्यस्तै ३० वर्ष लामो राजाको प्रत्यक्ष शासनमा पनि नेपालमा प्रधानमन्त्री र सरकार परिवर्तन निरन्तर भइरहेको स्मरण गराए ।
‘३० वर्ष लामो राजाको बरद नेतृत्वको पञ्चायतको कालरात्रीमा पनि कुनै स्थिरता भएन । तासको पत्ति फेरिएजस्तो सरकार र प्रधानमन्त्रीहरु फेरिए,’ उनले भने ।
त्यस्तै नेपालको बितेको ७५ वर्षको समयमा कुनै पनि प्रधानमन्त्रीले ५ वर्ष काम गर्न नपाउनु र नदिनु राज्यको लज्जाको विषय रहेको समेत टिप्पणी गरे ।
यसैगरी पछिल्ला दिनहरुमा माओवादी केन्द्रले सरकार पुनः परिवर्तन हुन्छ भन्दै थप अस्थिरता निम्त्याउन खोजेको आरोप लगाए । देश स्थिर बाटोमा गएपनि पुनः अस्थिरता निम्त्याउन खोजिएको आरोप लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया