ललितपुरमा भयङ्कर दुर्घटना : ११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको पोल ढलेपछि सवारी आवागमन नै बन्द

लोकपथ
6.4k
Shares

काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरेका एक कार चालकको ठक्करबाट बिजुलीको पोल भाँचिएर बीच सडकमा पुग्दा सातदोबाटो–हात्तीवन सडक खण्डको यातायात आवागमन लामो समयसम्म बन्द गर्नु परेको छ । ११ हजार भोल्टको करेन्ट प्रवाह हुने बिजुलीको तार टाँगिएको पोल नै सडकको बीच भागमा रहेकाले सवारी आवागमन बन्द गरिएको हो ।

ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा गएराति यो घटना भएको हो । यो समाचार तयार पार्दा एकतर्फी यातायात भने खुलाइएको छ । 

यो दुर्घटनामा म्याग्दी घर भएका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल विक र सोही ठाउँका २९ वर्षीय मोसेफ लामिछाने घाइते भएका छन् । पाटन अस्पतालमा उपचाररत उनीहरूमध्ये विकको अवस्था गम्भीर छ । 

प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, उनको आईसीयूमा उपचार भइरहेको छ ।

कार भने रूपक सापकोटाले चलाएका थिए । चालकले मापसे गरेर गाडी चलाएको पाइएकाले नियन्त्रणमा लिएर छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

ललितपुर प्रहरीका अनुसार राति ११ बजेर १० मिनेट जाँदा ललितपुर हात्तीवनमा बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । तीव्र गतिमा रहेको कार आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?