काठमाडौं । डा. शेष घले नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्षमा विजयी भएका छन् ।
एनआरएनएको ११ औँ महाधिवेशनबाट निर्वाचित बद्री केसी समूहको सहभागिता बिनै भएको एकता महाधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् । श्रेष्ठ ११ औँ महाधिवेशनमा केसीसँग पराजित बनेका थिए ।
एनआरएनएको १० औँ महाधिवेशनको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गत वर्ष एकता महाधिवेशन गराउन परमादेश दिएको थियो ।
सोही परमादेशपछि घलेले गराउने एकता महाधिवेशनलाई कांग्रेस र माओवादी निकट एनआरएनएहरुले साथ दिएका थिए ।
एकता महाधिवेशनबाट अध्यक्षमा विजयी श्रेष्ठ कांग्रेस निकट मानिन्छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवासमेतको दबाबमा कांग्रेस निकट श्रेष्ठलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार साह, मनोजकुमार श्रेष्ठ, विश्वास लिम्बु र बुद्धिसागर सुवेदी चयन भएका छन् । यस्तै महिला उपाध्यक्षमा जुनु गुरुङ चयन हुँदा महासचिवमा बाबुराम लामा चयन भएका छन् । सचिवमा टंक गैरे, चिन्तामणि सापकोटा, तिलक गैरे, देवकी गुरुङ चयन हुँदा कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगाना सर्वसम्मत भएका छन् । यस्तै सहकोषाध्यक्षमा कृष्णप्रसाद पोख्रेल चयन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया