‘राष्ट्रिय आवश्यकताहरू समेटेर नीति तथा कार्यक्रम आएको छ’

लोकपथ
182
Shares

काठमाडौं । नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय आवश्यकतालाई समेटेर आएको बताएको छ । शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकको निर्णय सुनाउँदै कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यस्तो बताएका हुन् । उनले कांग्रेसको माग बमोजिम नै आएकाले नीति तथा कार्यक्रमलाई समर्थन गर्ने बताए । 

उनले कांग्रेसले नीति तथा कार्यक्रमका बारेमा सरकारलाई सकारात्मक र रचनात्मक सुझाव दिने बताए । नीति तथा कार्यक्रमको सम्बोधन गर्ने गरी बजेट निर्माण गर्न सरकारलाई सचेत गराइने निर्णय भएको उनले जानकारी दिए ।  

उनले भने, ‘हिजो प्रस्तुत भएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो । नीति तथा कार्यक्रममा धेरै कुराहरू समेटिएका छन्,जुन राष्ट्रिय आवाश्यकताहरु हुन् । ती कार्यक्रमहरू हामीले पनि चाहेका कुराहरूलाई समेटिएर आएका हुनाले  त्यसलाई समर्थन गर्ने, नीति तथा कार्यक्रमलाई सकारात्मक र रचनात्मक सुझावसहित त्यसको पक्षमा बोल्ने समर्थन गर्ने निर्णय भएको छ । नीति तथा कार्यक्रम कार्यान्वयन हुन बजेटमा पनि समावेश हुनुपर्छ, अगामी बजेट तर्जुमा गर्दाखेरि नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने गरी तर्जुमा गरियोस् भनेर निर्णय गरेका छौँ ।’

प्रमुख सचेतक घिमिरेले विधेयक निर्माणमा परिणाम देखिने गरी कांग्रेसले भूमिका खेल्ने भन्दै विधेयक निर्माणमा सांसदहरूको भूमिका सुस्त हुँदा धेरै कुरामा प्रभाव परेको बताए ।  विधेयक निर्माणको गतिलाई तीव्रता दिन कांग्रेसले सक्रियतापूर्वक संसद र समितिहरूमा काम गर्ने उनको भनाइ छ । 

प्रमुख सचेतक घिमिरेले शिक्षकसँग गरिएको सहमतिअनुसार असार १५ गतेसम्म विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्ने प्रतिबद्धता जनाए ।  उनले पछिल्लो समय भारतको उडिसाको कलेज र पहलगम तथा बेलायतमा भएको घटनाबारे निन्दा गर्दै मृतक नेपालीहरूको जाँचबुझका लागि माग गर्ने निर्णय गरेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?