नेपालले अवलम्बन गर्ने आन्तरिक र बाह्य नीति प्रष्ट र सही छ : प्रधानमन्त्री ओली

लोकपथ
175
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको मूल्य र मान्यतालाई केन्द्रीकृत गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने नीति बनेको बताएका छन् । शनिबार नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले नेपालले अवलम्बन गर्ने आन्तरिक र बाह्य नीतिहरू प्रष्ट र सही भएको बताए ।  नेपालले कसैको पक्षमा नलागी असंलग्नको नीति अवलम्बन गर्दै आएको भन्दै नेपालले शान्तिको पक्षमा विश्वमाझ वकालत गर्ने बताए ।  

देशको सम्मान र हितलाई ध्यान दिएर छिमेकी तथा अन्तर्राष्ट्रिय सम्बन्ध अगाडि बढाउने उनको भनाइ छ । उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्र हित सबैभन्दा माथि रहेको बताउँदै नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध पारस्परिक लाभ र सम्मानका आधारमा हुने बताए । 

उनले भने, ‘जनतामा रहेको सार्वभौमसत्ता स्वाधीनता शक्तिका स्रोत नै जनता हुन् भन्ने मान्यता त्यसलाई सर्वोपरि राखेर देशको सार्वभौमसत्ता स्वाधीनता स्वतन्त्रता भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूलाई तलमाथि पर्न नदिई र त्यसो गर्दा न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व जस्ता कुराहरू यी कुराहरूलाई नबिर्सीकन मानवतावादी बसुधैव कुटुम्बकम् भन्ने भावनालाई ध्यानमा राखेर मानवतावादी दृष्टिकोणका साथ अगाडि बढ्छौँ ।’ 

प्रधानमन्त्री ओलीले मानवले हासिल गरेका पछिल्ला उपलब्धिहरूको न्यायोचित वितरण र वञ्चितहरूको पहुँच वृद्धि आधारभूत आवश्यकता भएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?