काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्मा शुक्रबार प्रस्तुत सरकारको नीति तथा कार्यक्रम देशमा राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि सही ढंगले आएकाले ढुक्क भएर दृढतापूर्वक तिनलाई समर्थन गर्न आफ्नो दलका सांसद्हरुलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको नेकपा (एमाले) संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार, राजनीतिक स्थायित्वका साथ सुशासन कायम गरी अर्थतन्त्रको विकासलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको बताए ।
‘हाम्रा नीतिहरू सही छन्, यसमा साथीहरू ढुक्कले लागे हुन्छ । संसदीय प्रक्रियामा विपक्षीले विरोधका लागि विरोध गर्ने भएकाले तिनका कुरामा सत्यता छ कि भनेर लाग्नुपर्दैन । हामीले सही कुराको पक्ष दृढतापूर्वक लिनुपर्छ । हामीले विपक्षमा रहँदा सही कुराको विरोध गरेका थिएनौँ ।, ‘पार्टी अध्यक्ष ओलीले भने, ‘हाम्रो दलमा वैचारिक एकता छ । स्पष्टता र दृढता हामीसँग छ, यो स्पष्टता र दृढतालाई संसद्का गतिविधिमा अझ प्रभावकारी रूपमा प्रकट गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
प्रधानमन्त्री ओलीले विकासका दृष्टिले पछाडि परेको समूहको उत्थान हुने गरी सरकारले काम गरिरहेको जनाउँदै समाजप्रति उत्तरदायी, प्रतिपक्षप्रति संवैधानिक रूपमा सहकार्य, शान्ति सुव्यवस्थाप्रति जिम्मेवार र आम जनताप्रति जवाफदेही भएर नीति तथा कार्यक्रम ल्याइएको बताए ।
समाजमा विकासको प्रतिफल प्राप्त गर्नबाट वञ्चितहरूको पहुँच वृद्धि हुनुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघि बढेको बताउँदै उनले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा राखेर छिमेक तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको उल्लेख गरे ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दलको बैठकमा नीति तथा कार्यक्रमबारे एमालेका उपमहासचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडाले मुलुकको समसामयिक राजनीति तथा आर्थिक उन्नयनका अवसर र चुनौतीबारे विचार व्यक्त गर्ने कार्यक्रम छ । त्यसपछि सांसदहरूबिच छलफल हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया