हिंसाका विकल्प कार्यक्रमका सहजकर्ताको विश्व सम्मेलन शुरु

काठमाडौँ, १९ कात्तिक – दैनिक जीवनमा आइपर्ने द्वन्द्व वा हिंसालाई रचनात्मक र अहिंसात्मक तरिकाले सामना गर्न सिकाउने सहजकर्ताको १७ औं विश्व सम्मेलन आजदेखि यहाँ शुरु भएको छ हिंसाका विकल्प कार्यक्रम (एभिपी) नेपालको संयोजन र एभिपी अन्तर्राष्ट्रिय समितिको आयोजनामा आजदेखि कात्तिक २५ गतेसम्म चल्ने सम्मेलनमा विभिन्न ४० देशका १६० जना प्रतिनिधि सहभागी छन् । सम्मेलनको नारा ‘स्थानीय समुदायको हेरचाह, विश्व सामुदायको निर्माण’ छ । सम्मेलनको उद्घाटन एभिपी अन्तर्राट्रिय समितिका अध्यक्ष ब्रानबिन हिलम्यान र नेपाल समितिका अध्यक्ष जमुना महर्जनले संयुक्त रुपमा गरे विश्वका विभिन्न स्थानमा क्रियाशील सहजकर्ताहरु सहभागी भएर द्वन्द्व र हिंसाले पिरोलेको आफ्नो समुदायमा काम गर्दाका अनुभव सुनाउने र त्यसबाट ज्ञान तथा अनुभव प्राप्त गर्ने एभिपी नेपालका उपाध्यक्ष भीमलाल गुरुङले जानकारी दिए विभिन्न खाले हिंसात्मक क्रियाकलापमा संलग्न भएका कारण कारागार परेका मानिस, त्यसमा पनि खासगरी युवालाई हिंसाको दुष्चक्रबाट बाहिर निस्केर सामान्य र शान्तिपूर्ण जीवन बिताउन सहयोग गर्ने उद्देश्यले सन् १९७५ मा अमेरिकाको न्युयोर्कस्थित ग्रिनहेभन कारागारबाट स्वयंसेवी रुपमा एभिपी कार्यक्रमको शुरुआत भएको हो हाल यो करिब ५० मुलुकमा सञ्चालित छ । नेपालमा एभिपीको शुरूआत सन् २००८ मा भएको थियो । यहाँ करिब ६० सहजकर्ता (परामर्शदाता) तयार भएका छन । विद्यालयमा हुने शारीरिक दण्ड र सजाय निरुत्साहन गर्न पनि सो कार्यक्रमले सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?