काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले लुटतन्त्र को विरुद्ध उठ्ने जनआवाजलाई दबाउने गरी सरकारले नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका छन् ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमका बारेमा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो आरोप लगाएका हुन् । उनले राज्य व्यवस्थाका विरुद्ध बोल्नेहरूका लागि तह लगाउने गरी नीति तथा कार्यक्रममा व्यवस्था गरिएको बताए ।
उनले भ्रष्टाचारको विरुद्धमा बोल्ने जनआवाज देखेर सरकार तर्सिएको बताए । उनले जनआवाज विरुद्धका आवाज निस्तेज पार्ने गरी नीति तथा कार्यक्रमको पेज नम्बर २ मा लिखित रूपमा ल्याइनु विडम्बना भएको बताए ।
उनले भने, ‘युवाहरूको रोजगारीको विषय वस्तु नै आएन । अहिले सबैभन्दा ठुलो समस्या यही भयो । र विशेष गरेर आन्तरिक सुरक्षाका कुरा, रोजगारीका कुरा आउनुपर्थ्यो यति बेला केही पनि आएन । हुबहु छ, सुगा रटाइ छ । सिधा भाषामा भन्दा पुरानै ढर्रामा भएको कागजको खोस्टा जस्तो छ । सरकारले यो वर्ष नयाँ एउटा कुरा चाहिँ ल्याएको रहेछ । जब यो व्यवस्था र लुटतन्त्र विरुद्ध बोल्नेहरूलाई तह लगाउने व्यवस्था नेपालको नीति तथा कार्यक्रममा अहिलेसम्म इतिहासमा आएको छैन, त्यो पहिलो पटक आएको छ । त्यसैले म भन्छु अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिन्छ भन्या जस्तो सरकार तर्सिएको देखियो । किन भने लुटतन्त्र को विरुद्धमा जनआवाजलाई दबाउनका लागि नीति तथा कार्यक्रममा ल्याएको छ । भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण गर्न नयाँ नियम बनेर आएको छ । यो चाहिँ विल्कुनै नयाँ हो । किनभने भ्रष्टाचारको विरुद्धमा जनताले आवाज उठाउने कुरालाई पनि निस्तेज पार्ने भनेर २ नम्बर पेजमा लेखेर राखिएको छ । त्यो चाहिँ नीति तथा कार्यक्रममा नआउनु पर्ने कुरा, तर विडम्बनाका साथ भन्नुपर्छ राष्ट्रपतिलाई जानकारी बिना प्रधानमन्त्रीले पढ्न लगाए ।’
प्रवक्ता शाहीले नीति तथा कार्यक्रम टोले गुण्डाहरुको चन्दा उठाउनका लागि गरिएको सम्झौताको खोस्टो जस्तो भएको आरोप लगाए । उनले नीति तथा कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीले संशोधन हाल्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया